काठमाडौं । नवनियुक्त सशस्त्र महानिरीक्षक राजु अर्यालले फौजी संस्कारको बर्खलाप वा कुनै आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाइए कुनै पनि अवस्थामा नछाडिने बताएका छन् । सोमबार पदबहालीपछि सबै सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिने क्रममा अर्यालले यस्तो बताएका हुन् ।

अर्यालले सबै सशस्त्र प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ नियमित अनुगमनका लागि पनि उनले निर्देशन दिए । उनले व्यक्तिगत स्वार्थ थाती राखी संगठनले लिएको लक्ष्य प्राप्तिमा सबै दर्जाका सशस्त्र प्रहरी कर्मचारी एकजुट भई सामूहिक भावनाका साथ लाग्नुपर्ने बताउँदै संगठनबाट के लिनसक्छु भन्दा पनि संगठनलाई के दिन सक्छु भन्ने भावनाका साथमा कार्यसम्पादनमा लाग्न निर्देशन दिए ।


अर्यालले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा सशस्त्र प्रहरी बलको भूमिका महत्वपूर्ण रहेको बताउँदै सबै सशस्त्र प्रहरी कर्मचारीलाई कार्यक्षेत्रमा खटिँदा सभ्य र अनुशासित भई जिम्मेवारी निर्वाहमा क्रियाशील रहन निर्देशन दिए ।

को हुन् महानिरीक्षक अर्याल?

पिता दामोदर प्रसाद अर्याल र माता शारदा अर्यालको कोखबाट वि.सं. २०३१ साल मंसिर २३ गते अर्यालको जन्म भएको हो । काठमाडौं गोलढुंगा ३ स्थायी बसोवास गरिरहेका उनले त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास, प्रथम श्रेणीमा समाजशास्त्र तथा राजनीतिशास्त्र संकायमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय मानवीय कानून विषयमा पोष्ट ग्राजुएट डिप्लोमा उत्तीर्ण गरेका छन् ।
२०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको इन्स्पेक्टर पदमा सेवा प्रवेश गरेका सशस्त्र प्रहरी महानिरीक्षक अर्याल २०५८ साल जेष्ठ ८ गते सशस्त्र प्रहरी बलतर्फ स्थानान्तरण भएका थिए ।
उनले स्वदेश तथा विदेशमा गरी १५ भन्दा बढी पेशागत तथा व्यावसायिक तालिम हासिल गर्नुका साथै अमेरिका, जर्मनी, ईटाली, चीन, श्रीलंका लगायत विभिन्न अफ्रिकी मुलुकसमेत भ्रमण गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !