बीबीसी । दोस्रो विश्व युद्ध, नाजी युगमा भएको युद्ध अपराधको क्षतिपूर्ती दाबी सम्बन्धी मामिलामा जर्मनीले इटलीलाई संयुक्त राष्ट्र संघको सबैभन्दा उच्च अदालतमा पुर्याएको छ ।

अन्तर्राष्ट्रिय अदालत समक्ष पेश हुँदै जर्मनीले २०१२ देखि नै विश्वयुद्ध सम्बन्धी क्षतिपूर्तीका दाबी अस्वीकार्य नगर्ने कानुन तय भइसकेपछि पनि इटलीले आफ्ना घरेलु अदालतहरुमा त्यस किसिमका मुद्दालाई अनुमति दिइरहेको आरोप लगाएको छ ।
जर्मनीका अनुसार त्यस्तो नियम बनाएपछि पनि इटलीमा नाजी युगको बेलाका २५ मुद्दा दर्ता भएका छन् । र ती मध्ये केही मुद्दामा अदालतले जर्मनीलाई क्षतिपूर्ती तिर्नुपर्ने निर्णय सुनाएको छ । यसैका कारण इटलीले जर्मन सरकारको स्वामित्वमा रहेका सम्पतिलाई क्षतिपूर्तीका जफत गर्न सक्नेबारे चिन्ता व्यक्त गरेको छ ।
यसअघि त्यहाँको एक अदालतमा आगामी २५ मे सम्ममा जर्मनका ऐतिहासिक, शैक्षिक तथा सांस्कृतिक संंस्था अवस्थित भवनहरु तत्काल विक्रीका लागि राख्नेबारे निर्णय गर्ने बताएको छ ।
यो विवाद वास्तवमा २००८ देखि सुरु भएको हो । त्यसबेला इटलीको सर्वोच्च अदालतले जर्मन सेनाबाट १९९४ मा टुस्केनीमा मारिएका २०३ मध्ये नौजना मृतकका परिवार र आफन्तलाई जर्मनीले १० लाख पाउन्डको क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो ।
यता जर्मनीले चाहिँ आफूहरुले दोस्रो विश्व युद्धबाट प्रभावित भएका मुलुकहरुलाई १९४५ मा युद्ध अन्त्य भएदेखि अरबौँ युरो क्षतिपूर्ती तिरिसकेको तर्क गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय अदालतको फैसला आउन धेरै लामो समय लाग्न सक्छ तरपनि जर्मनीले त्यतिन्जेल इटलीलाई आफ्ना कुनैपनि सम्पति लिलाम गर्नबाट रोक्नका लागि उपयुक्त उपाय लगाउन अपील गरेको छ ।

















