काठमाडौं । पार्टी निर्देशनपछि कांग्रेसका असन्तुष्ट ६ सय २३ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । आइतबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसप्रवक्ता डा. प्रकाशशरण महतले कतिपय असन्तुष्टले भने वक्तव्यमार्फत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने घोषणा गरेको जानकारी दिए ।कांग्रेसका अनुसार उम्मेदवारी दर्ता गरेका तीन नगरपालिकाका मेयर, १० गाउँपालिकाका अध्यक्ष, १७ उपमेयर, १९ गाउँपालिका उपाध्यक्ष, ८९ वडाध्यक्ष, ९९ महिला सदस्य, एक सय १२ दलित महिला सदस्य र दुई सय ७४ सदस्यका उम्मेदवार छन् ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार शनिबार उम्मेदवारी फिर्ताको कार्यसूची थियो । कांग्रेसले पार्टी निर्णयविपरीत उम्मेदवारी दर्ता गराएकालाई फिर्ता लिन निर्देशन दिँदै अवज्ञा गरे स्वतः पार्टीबाट निष्कासनमा पर्ने स्पष्ट गरेको थियो । सोहीअनुसार विभिन्न पदका लागि दिएका उम्मेदवारी फिर्ता भएका हुन् ।त्यसैबीच, निर्वाचनका लागि पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा ३० हजार ६ सय २८ पदमा उम्मेदवारी दर्ता भएको कांग्रेसले जनाएको छ । महतका अनुसार दुई सय ६५ नगरपालिकामा मेयर, तीन सय ७२ गाउँपालिकामा अध्यक्षले मनोनयन गरेका छन् । यसैगरी, एक सय ९४ उपमेयर र तीन सय ४० उपाध्यक्षले मनोनयन दर्ता गरेको कांग्रेसले जनाएको छ । यस्तै, कांग्रेसबाट ६ हजार ४३ वडाध्यक्ष, पाँच हजार नौ सय ३८ महिला सदस्य, पाँच हजार ६ सय ९१ दलित महिला सदस्य र ११ हजार सात सय ८८ अन्य सदस्यले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैबीच, पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने बागी उम्मेदवारलाई कांग्रेसले कारबाही नगर्ने भएको छ । प्रवक्ता महतले प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकालेर प्रचारमा गएमा विधानको व्यवस्थाअनुसार कारबाही नहुने सुनिश्चितता
गर्ने बताए ।
‘विधानले स्पष्ट रूपमा पार्टीको निर्देशनविपरीत उम्मेदवारी दिनेलाई स्वतः निष्कासित हुने व्यवस्था गरेको छ । तैपनि प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिन नसकेकाले पार्टीको निर्देशन मानेर वक्तव्यमार्फत फिर्ता लिने र पूरै समर्पित भएर आधिकारिक उम्मेदवारको प्रचारमा गएमा उहाँहरूलाई कारबाही लागू नहुने हामी सुनिश्चित गर्छौँ,’ उनले भने ।
तालमेल ठीक छ, सफल भएको छ : डा. प्रकाशशरण महत
तालमेल गरिएका ठाउँमा अधिकांश साथीले पार्टी निर्णय स्वीकार गरेर पार्टीको बृहत्तर हितमा काम गर्नुभएको छ । अपवाद ठाउँमा बाहेक सबैले पार्टीको निर्णय स्विकारेको अवस्था छ । तालमेल बृहत्तर हितका लागि गरिएको हो । धेरैलाई लागेको थियो– तालमेल सफल हुन सक्दैन, धेरै ठूलो विद्रोह हुन्छ । त्यस्तो अवस्था आएन । बृहत्तर रूपमा हेर्ने हो भने तालमेल ठीक छ, सफल भएको छ । गठबन्धनले देशलाई ठीक बाटोमा अगाडि बढाइरहेको छ भन्ने महसुस सबैले गरेका छन् । जहाँ विद्रोही उम्मेदवार हुनुहुन्छ, उहाँहरू गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनु हुनेछ भन्ने विश्वास छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !