काठमाडौं । नेपाल प्रहरीमा सबैभन्दा बढी वरीयता मिच्दै अगाडि बढाइएका एआईजी विश्वराज पोखरेल आईजीपीमा नियुक्त नभएपछि सर्वोच्च अदालत जाने भएका छन्। सरकारले आइतबार आईजीपीमा धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेपछि रुष्ट बनेका पोखरेल अदालत जाने तयारीमा छन्।

त्यसविरुद्ध उनले अदालत जाने तयारी गरिरहेको उनी निकट स्रोतले जनाएको छ। एआईजीमा आफू अगाडि रहेको भन्दै आफू नै आईजीपी हुनुपर्ने पोखरेलको दाबी छ।
पोखरेल २०७७ मंसिर २४ गते एआईजीमा बढुवा भएका थिए। त्यतिबेला पनि वरीयता मिचेर र हुँदै नभएको दरबन्दी थप गरेर पोखरेललाई एआईजी बनाइएको थियो। डीआईजीमा बढुवा हुँदा पनि उनले बरियता मिचेका थिए। एसपीबाट एसएसपीमा बढुवा हुँदाबाट उनले बरियता मिच्न थालेका हुन्।
२०७४ साउन १९ गते एसएसपीमा बढुवा हुँदा पोखरेलले आफ्नो ब्याचका चारजना र अघिल्लो ब्याचका ७ जनालाई उछिनेका थिए। पोखरेलप्रति प्रहरीभित्र असन्तुष्टि त्यहीँबाट सुरु भएको थियो।
पोखरेलले त्यतिबेला आईजीपी शैलेश थापा क्षेत्रीको ब्याचलाई पनि त्यतिबेला उछिनेका थिए। एसएसपीबाट अगाडि लागेका पोखरेल डीआईजीमा पनि एकल बढुवा भए।
एसएसपीमा उनले आफ्नो ब्याचका सबै र अघिल्लो ब्याचका प्रकाशजंग कार्की, वशन्तकुमार पन्त, सञ्जयराज शर्मा, ईश्वरबाबु कार्की, दीलिपकुमार चौधरी, राजेशलाल कर्ण र देवबहादुर बोहरालाई पछि पारेका थिए।
डीआईजीमा एकल बढुवा हुँदा घनश्याम अर्याल, गणेशबहादुर ऐर र पुरुषोत्तम कँडेललाई पनि पछि पारे। २२ महिना पहिले नै अघिल्लो ब्याचलाई छाडेर डीआईजीबाट सिधै आईजीपी बन्न जोड गरेका थिए। तर त्यतिबेला एआईजीमै पछि परेपछि उनी आफ्नो ब्याचबाट आईजीपी हुनेमा ढुक्क थिए।
पोखरेलका लागि केपी ओली नेतृत्वको सरकारले महानगरीय प्रहरी कार्यालयमा एआईजीको दरबन्दी नै थपिदिएको थियो। त्यसअघिसम्म महानगरीय प्रहरी कार्यालयमा डीआईजीको दरबन्दी थियो।
तर, ओली सरकार बहिर्गमनको डिलमा पुगेपछि पोखरेललाई निर्विकल्प आईजीपीको बाटोमा धक्का लाग्यो। ओली सरकार ढल्ने बेलामा सहकुल थापालाई २०७८ असार २१ गते एआईजीमा बढुवा गरेको थियो।
थापा पनि पोखरेल जस्तै नयाँ दरबन्दी थपेर एआईजीमा बढुवा भएका थिए। उनका लागि कार्य र अपराध अनुसन्धान विभागलाई विभाजन गरिएको थियो। एसएसपी हुँदासम्म ब्याचीभन्दा पनि पछि रहेका थापा पनि डीआईजीबाट आफ्नो ब्याचको दोश्रो नम्बर अथवा पोखरेलपछिको वरियतामा आइपुगेका थिए।
भर्ती हुँदादेखि नै पहिलो नम्बरमा रहेका धिरज प्रताप सिंह भने सत्ता अनुकुल नहुँदा पछाडी पारिँदै गए। तर उनले आफू पछाडी पर्दा र छुट्दा पनि मुद्दा मामिलामा गएनन्। तर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि भने धिरज प्रताप सिंहका दिन फिरेका हुन्।
गत चैतमा सरकारले धिरजप्रतापसहित तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। त्यो बढुवासँगै आईजीपीमा टक्कर बढेको थियो।
अन्ततः देउवा सरकारले धिरजप्रतापलाई नै आईजीपी नियुक्ति गरेका हुन्। धिरज आईजीपी भएसँगै दुई एआईजी विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट भएका हुन्।
सरकारको निर्णय विरुद्ध पोखरेलले अदालत जाने तयारी गरे पनि थापा भने अदालत जाने निश्चित भइसकेको छैन। उनले परामर्श गरिरहेको उनी निकट स्रोतले जनाएको छ।
अर्का एआईजी रबिन्द्र धानुक भने धिरज आईजीपी भएकोमा सन्तुष्ट देखिएका छन्। सामाजिक सञ्जालमा उनले बधाईसमेत दिइसकेका छन्।
आईजीपीका चारजनै दाबेदार २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। भर्ना हुँदाकै पहिलो नम्बरमा धिरज प्रताप सिंह थिए। धिरज प्रताप सिंह पछि दिवेश लोहनी, उत्तमराज सुवेदी, वसन्तकुमार लामा थिए। उनीहरुपछि मात्रै पोखरेल थिए। यो बरियता एसएसपीसम्म रहेको थियो। त्यसपछि अनुकुल सत्ताहुँदा विश्वराजले फड्को मारेका थिए।
लोहनी, सुवेदी र लामा भने अहिले पनि डीआईजी नै छन्। बरियता नमिचेको भए विश्वराज पनि डीआईजी नै हुन्थे। आईजीपी थापाकै ब्याची मध्ये धेरै डीआईजी नै छन्। तर, आफ्नो अनुकुल सत्ता हुँदा बरियता मिचेका पोखरेल अहिले आफैं बरियताको मुद्दा लिएर सर्बोच्च पुग्ने तयारीमा लागेका हुन्।
पहिले बरियता मिचेर अगाडी बढेकै कारण अघिल्लो ब्याच एसएसपीमै घर जान लाग्दा पोखरेल आईजीपीको नजिक पुगेका हुन्। पहिले आफैं वरियता नमिचेको भए पोखरेल उमेर हदका कारण डीआईजीबाटै घर जानु पर्ने अवस्था थियो। अब पनि उनी सर्वोच्चले आईजीपी बनाउन आदेश नदिए साउन २० गतेपछि उमेर हदका कारण अनिवार्य अवकाशमा जाने छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !