काठमाडौं । सरकारले नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) मा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । प्रहरीमा आईजीपीका लागि अन्य दाबेदारमा एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक थिए ।

प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीले सोमबारदेखि अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपी चयन गरेको हो । दैलेखका बासिन्दा सिंहको जन्म २०२४ सालमा भएको थियो । उनले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।
उनी २०४९ चैतमा नेपाल प्रहरीमा निरीक्षक पदमा प्रवेश गरेका थिए । आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरे पनि उनी वैकल्पिक सूचीमा परेका थिए । उनको कार्यकाल करिब १ वर्ष हुनेछ । सिंह गत चैत ७ मा एआईजीमा बढुवा भएका थिए ।
उनले एसपी हुँदा पर्सा र दाङको नेतृत्व गरेका थिए । एसएसपी हुँदा भने महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रमुख थिए ।
सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेश प्रदेशको कमाण्ड सम्हालेका थिए । यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को पनि उनले नेतृत्व गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !