काठमाडौं । आजको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक नियुक्ति गर्ने भएकाले पनि चासोका साथ हेरिएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा दुई सुरक्षाफौजका प्रमुख नियुक्ति गर्ने भएकाले पनि यसलाई चासोका साथ हेरिएको हो ।नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्रीले सोमबारबाट र सशस्त्रका पुष्पराम केसीले आजबाटै अवकाश पाउँदैछन् ।

सशस्त्र प्रहरी बलको महानिरीक्षक (आइजीपी) मा राजु अर्याल नियुक्ति हुने निश्चित छ । तर नेपाल प्रहरीमा भने ४ जना एआइजी प्रतिस्पर्धामा भएकाले अन्यौल छ । गृहमन्त्रालयले एआइजीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकको नाम सिफारिस गरेको छ ।
मन्त्रिपरिषदले यी चार मध्येबाट एकलाई आइजीपी बनाउने छ । पोखरेल केपी ओली सरकारमा हुँदा एकपछि अर्को जम्प गरी बढुवा भएका थिए ।
२०४९ चैत १२ मा प्रहरी निरीक्षकका रुपमा सेवा प्रवेश गर्दा उनी १६ नम्बरमा थिए । त्यतिबेला धिरजप्रताप सिंह एक नम्बरका इन्स्पेक्टर थिए ।
इन्स्पेक्टरबाट डिएसपी हुने समयमा पनि धिरजप्रताप सिंह एक नम्बरमै बढुवा भएका थिए भने विश्वराज पोखरेल १८ औं नम्बरमा डिएसपी बनेका थिए । २०६१ सालमा डिएसपी हुँदा पोखरेलको सूची १८ औं नम्बरमा थियो । २०६९ सालमा एसपी हुँदा पनि धिरजप्रताप सिंह एक नम्बरमै बढुवा हुँदा पोखरेल ५ नम्बरमा एसपी भएका थिए । एसपीको बढुवामा धिरजप्रताप सिंह एक नम्बर, उत्तम सुवेदी दुई नम्बर, दिवेश लोहनी तीन नम्बर, बसन्त कुमार लामा चार नम्बर र विश्वराज पोखरेल पाँच नम्बरको वरीयतामा एसपी बनेका थिए ।
तर एसपीबाट एसएसपी बन्ने समयमा भने विश्वराजले ठूलै छलाङ मारेका थिए । एसएसपी बन्ने समयमा एक नम्बरका सिंह, दुई नम्बरका सुवेदी, तीन नम्बरका लोहनी र चार नम्बरका लामालाई उछिनेर पोखरेल एक नम्बरमा बढुवा हुन सफल भएका थिए ।
उनले आफू एक नम्बरमा बढुवा हुनका लागि प्रहरी संगठनको कर्मचारी प्रशासनमा बसेर काम गर्न पाएका थिए । प्रहरी संगठनको ‘कप्र’ अर्थात् कर्मचारी प्रशासन त्यस्तो शाखा हो, जहाँबाट प्रहरी कर्मचारीको मूल्यांकन फारम भरिन्छ र नम्बर चढाइन्छ । त्यसबाहेक तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग नजिक रहेका कारण उनले बढुवामा एकैपटक ४ जनालाई पछाडि पारेर छलाङ मारेका थिए । तर उनले छलाङ मार्नुका पछाडि रेकर्डमा दर्ज हुने गरी कुनै उल्लेखनीय काम भने गरेका थिएनन् ।
तत्कालीन समयमा विश्वराज पोखरेल एक नम्बरमा, धिरजप्रताप सिंह दुई नम्बरमा, उत्तम सुवेदी तीन नम्बरमा, बसन्त लामा चार नम्बरमा, दिवेश लोहनी पाँच नम्बरमा र रवीन्द्र धानुक ६ नम्बरमा एसएसपीमा बढुवा भएका थिए । त्यतिबेला सहकुल बहादुर थापा भने एसएसपी बन्नबाट छुटेका थिए ।
डीआईजी र एआईजीमा पनि पोखरेलको छलाङ, पद सिर्जना गरेर बढुवा
अप्रत्यासित छलाङ मारी एक नम्बरमा एसएसपीमा बढुवा भएका पोखरेलले डीआईजी बन्ने समयमा पनि त्यसैगरी छलाङ मारे । नेपाल प्रहरीका तत्कालीन डीआईजी सुशील भण्डारीको सडक दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको डीआईजीको एक पदमा तत्कालीन केपी ओली सरकारले पोखरेललाई बढुवा ग¥यो । जतिबेला पोखरेललाई डीआईजी बनाइएको थियो, त्यतिबेला पूर्व आईजीपी ठाकुर ज्ञवाली ब्याचका वीरेन्द्र श्रेष्ठ सिनियर एसएसपी थिए । पोखरेलको ब्याचभन्दा दुई ब्याच र तीन वर्ष सिनियर रहेका श्रेष्ठलाई डीआईजी नबनाई तत्कालीन सरकारले भविष्यमा आईजीपी बनाउने उद्देश्यका साथ पोखरेललाई डीआईजीमा बढुवा गरेको थियो ।
पद सिर्जना गरेर एआइजी बढुवामा पोखरेललाई ओली सरकारले जम्प गरी बढुवा गर्दा उनी थापा भन्दा ६ महिना र सिंह र धानुकभन्दा १६ महिना बरिष्ठ हुन पुगेका हुन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनले काठमाडौं क्षेत्र नम्बर ५ मा एमालेका नेता इश्वर पोखरेललाई बैधानिक बुथ कब्जा गर्न सहयोग गरी जिताएको पोखरेल माथी आरोप छ ।
प्रतिनिधिसभाको सुशासन समितिले कारबाही गर्न निर्देशन दिएका पोखरेललाई बढुवा गर्ने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक नभएपछि शनिबार बेलुका कांग्रेस नेताहरुलाई उनले लबिईङ गर्न बालुवाटार नै पठाएको खुलेको छ । चार जनामध्येबाट सरकारले जसलाई पनि नियुक्ति गर्न सक्ने कानुनी ब्यवस्था छ ।
अख्तियारका तत्कालीन प्रमुख आयुक्त नवीनकुमार घिमिरे र सर्वोच्चका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितका शक्तिकेन्द्र रिझाएर ओली सरकारका पालामा एकपछि अर्को फड्को हान्दै बढुवा भएका थिए पोखरेल । ओली सरकारका पालामा अस्वभाविक ढंगले पावर एक्सरसाइज गरी बढुवा भएकाले पनि प्रधानमन्त्री देउवा उनलाई बढुवा गर्ने पक्षमा सकारात्मक नभएको स्रोत बताउँछ । त्यही भएकाले पनि उनले डा. शेखर कोइराला निकट कांग्रेसका नेताहरु परिचालन गरेका छन् ।
ओली सरकारको पालामा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विश्वराज पोखरेललाई एआईजी बनाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न निर्देशन नै दिएको थियो ।

















