काठमाडौं । चितवनको भरतपुरबाट फर्किएर गृहमन्त्री बालकृष्ण खाँण सिधै बालुवाटार पुगेका छन्।

भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन पुगेका खाँण पौडेलसँग भएको कुरा सभापति शेरबहादुर देउवालाई सुनाउन बालुवाटार गएका हुन्।
विमानस्थलबाट सिधै बालुवाटार गएका खाँण दुई घण्टादेखि त्यहीँ छन्। कांग्रेसका नेताले बागी उम्मेदवारी दिएपछि उनी बुधबार बिहान भरतपुर पुगेका थिए। तर खाँणले दुई दिनसम्म छलफल गर्दा पनि पौडेल उम्मेदवारी फिर्ता गर्न तयार भएका छैनन्।
सभापति देउवाले टेलिफोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि पौडेलले अस्वीकार गरेपछि खाँणलाई पठाएका थिए। तर उनले लगातार प्रयास गर्दा पनि उम्मेदवारी फिर्ता लिन पौडेल तयार छैनन्।
गठबन्धनमै समस्या पर्ने भन्दै खाँणले पौडेललाई उम्मेदवारी फिर्ता लिन र आगामी चुनावमा पार्टीले स्थान दिने आश्वासन देखाएका थिए। तर पौडेलले आफू कुनै पनि प्रलोभनमा पछि नहट्ने भन्दै आफ्नो उम्मेदवारीले गठबन्धनमा कुनै अप्ठेरो नपर्ने जवाफ दिए।
खाँणलाई उनले भनेका थिए, ‘म फर्किने ठाउँमा छैन। फर्किन नसक्ने ठाउँमा पुगिसकेँ। यहाँका कांग्रेस कार्यकर्ता र मतदाता हँसिया हथौडामा भोट हाल्दिन भन्छन्। म उहाँहरुको प्रतिनिधि मात्रै हो। म पार्टी जोगाउन उठेको हुँ।’गठबन्धनविरुद्ध उम्मेदवारी दिनेलाई पार्टीबाट निष्काशन गर्ने चेतावनी दिँदा पनि पौडेलले बरु पार्टीको कारबाही भोग्ने तर उम्मेदवारी फिर्ता नलिने अडानमा छन्।

















