काठमाडौं । भन्सार जाँच पास परीक्षण कार्यालय, तीनकुने काठमाडौंमा कार्यरत नायव सुब्बा (हाल निलम्बन) देवीबहादुर थापाले गैरकानूनी रुपमा १ करोड ८७ लाख अकुत सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

वैध आय दुई करोड एक लाख ९८ हजार ४३९ को तुलनामा १ करोड ८७ लाख बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ। २०५६ सालमा निजामति सेवामा प्रवेश गरेका थापाले १९ वर्षमा दुई करोड बढी सम्पत्ति पुर्याएका हुन्।
अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निज देवी बहादुर थापालाई विगो एक करोड ८७ लाख ४७ हजार १४९.४२ रुपैयाँ कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक बाक्यांश एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजाय हुन माग दाबी लिइएको छ।’
थापाको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफू, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरीद गरेको, कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चलअचल सम्पत्तिहरु खरिद गरेको देखिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी बाबु कृष्णबहादुर थापा, आमा चन्द्रमाया र श्रीमती विमसा राउतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न मागदावी गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !