नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच शुक्रबार दिल्लीमा भेटवार्ता भएको छ ।

दुई दिने भ्रमणमा बिहीबार भारत आएका जोन्सन र मोदीबीच सुरक्षा, ऊर्जा र व्यापार सम्बन्धको विषयमा छलफल भएको छ ।
जोन्सनले भारतलाई लडाकु विमान बनाउन सहयोग गर्ने बताएका छन् । नयाँ लडाकु विमान र समुद्री प्रविधिसहित सुरक्षाका विभिन्न आयाममा साझेदारी गर्न आफूहरू सहमत भएको जोन्सनले बताए । यसलाई हतियारका लागि रुससँग भारतको निर्भरता कम गर्ने प्रयासको रूपमा हेरिएको छ ।
दुई देशले हिन्द महासागर सहित हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा सहकार्यलाई बढाउने बताएका छन् ।
यस्तै, भारत र बेलायतले स्वतन्त्र व्यापार सम्झौता गर्ने भएका छन् । यसै वर्षको दिवालीसम्म यो काम टुङ्ग्याउन वार्ताकारहरूलाई निर्देशन दिएको जोन्सनले बताए । भारतीय प्रधानमन्त्री मोदीले पनि यसै वर्षको अन्त्य सम्म यस सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरेको बताएका छन् ।
भारत भ्रमणका क्रममा जोन्सनले रुस–युक्रेन द्वन्द्व सम्बन्धी विषयलाई भने बेवास्ता गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ता र कूटनीतिमार्फत द्वन्द्व अन्त्य गर्न युद्धविरामको लागि आह्वान दोहोर्याए ।

















