काठमाडौं । सत्तारूढ गठबन्धन दलहरूले चुनावी तालमेलको निर्णय कार्यान्वयन गर्न आआफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । स्थानीय तहको आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय अक्षरशः कार्यान्वयन गर्न सत्ता गठबन्धनमा आबद्ध दलहरूले लिखित रूपमै निर्देशन जारी गरेका हुन् ।

यसअघि बुधबार नै सत्तारूढ गठबन्धन दलहरूले आगामी स्थानीय निकाय निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने तथा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँट गर्ने निर्णयलाई पनि अन्तिम रूप दिएका थिए । महानगर र उपमहानगरमा भागबन्डाको विषय मंगलबार नै टुंग्याउने भनिए पनि केही उपमहानगरमा दलहरूबीच सहमति जुटन सकेको थिएन । सोही कारणले मंगलबार राति अबेरसम्म सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू छलफलमा व्यस्त भएका थिए ।
तर, बुधबार दलका शीर्ष नेताहरूले सम्पूर्ण महानगर र उपमहानगरमा तालमेलको विषयलाई अन्तिम रूप दिएका हुन् । यस विषयमा दलका शीर्ष नेताहरूले लिखितरूपमै प्रतिबद्धता व्यक्त गरेका छन् । समझदारीपत्रमा नेपाली कांग्रेसको तर्फबाट सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर गरेका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट अध्यक्ष उपेन्द्र यादब र राष्ट्रिय जनमोर्चाका तर्फबाट उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् । ‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा तपसिल बमोजिमका दलहरूले तपसिल बमोजिमको पदमा उम्मेदबारी दिने सहमति ग¥यो । सहमति बमोजिम गर्न गराउन आआफ्ना राजनीतिक दलका निकायहरूलाई निर्देशन गरिन्छ’, शीर्ष नेताहरूको बैठकपछि जारी विज्ञिप्तिमा भनिएको छ ।
लिखित सहमतिअनुसार, सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयर पाउने भएको छ । कांग्रेसले धरान, इटहरी, कलैया, बुटबल, तुलसिपुर, नेपालगञ्ज र धनगढी उपमहानगरमा मेयर पद पाउने भएको छ । कांग्रेसले जितपुर सिमरा, घोराही र हेटौँडा उपमहानगरपालिकामा भने उपमेयर पद पाउने भएको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयर तथा ललितपुर महानगरपालिकामा उपमेयर पद पाउने सहमति भएको छ । माओवादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरमा मेयर तथा धरान र धनगढी उपमहानगरमा उपमेयर पद पाउने भएको छ ।
यसैगरी एकीकृत समाजवादी पार्टीलाई पोखरा महानगरपालिकामा मेयर र काठमाडौं महानगरमा उपमेयर पद दिने सहमति भएको छ । यसका अतिरिक्त एकीकृत समाजवादीले हेटौँडा उपमहागरमा मेयर तथा इटहरी, बुटबल र तुलसिपुर उपमहानगरमा उपमेयर पद पाउने भएको छ ।
जसपालाई भने वीरगञ्ज महानगरपालिकामा मेयर र विराटनगर महानगरमा उपमेयर पद दिने सहमति भएको छ । यसका अतिरिक्त जसपाले जनकपुर उपमहानगरमा मेयर तथा कलैयार र नेपालगञ्ज उपमहानगरपालिकामा उपमेयर पद पाउने भएको छ । ‘पाँच दलीय गठबन्धनले यसअघि जारी गरेको मापदण्ड, सहमतिको मर्म र भावना अनुरूप सम्बन्धित समितिहरूको बैठक बसी अविलम्ब सिट बाँडफाँट तथा उम्मेदबारहरूको चयन गर्न निर्देश गरिन्छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकले स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच तालमेल गरेर अगाडि बढ्दा अभूतपूर्व सफलता हात पार्न सकिने निष्कर्ष पनि निकालेको छ । यसअघि राष्ट्रिय सभाको निर्वाचनमा पनि सत्ता गठबन्धन दलहरूले तालमेल गरेर उम्मेदबारी दिएका थिए । सोही कारणले राष्ट्रिय सभा निर्वाचनमा पाँच दलीय गठबन्धनले आफ्नो वर्चस्व कायम गरेको थियो । यसैगरी हालै सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनमा पनि सत्ता गठबन्धन दल तालमेलसहित अगाडि बढेका थिए । त्यसैले बार एसोसिएसनको निर्वाचनमा पनि सत्ता गठबन्धन दलकाका उम्मेदबारले सम्पूर्ण पदमा जित हासिल गरेका थिए ।
‘निर्णय नमाने कारबाही
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले चुनावी तालमेलको विषयमा सत्ता गठबन्धनको निर्णय विपरीत गए कारबाही गरिने बताएका छन् । गृहमन्त्रीसमेत रहेका नेता खाँणले बुधबार रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्तारूढ दलबीच गठबन्धन गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको बताए ।
गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै नभई प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि बन्न नदिने गरी पार्टीले निर्णय लिने चेतावनी पनि उनले दिए । ‘नेपाली कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध छ’, गृहमन्त्री खाँणले भने, ‘पार्टीको निर्णय विपरीत जाने नेता÷कार्यकर्ताको गतिविधिलाई गम्भीर तरिकाले निरीक्षण गरिँदैछ । उनीहरूले कारबाहीको भागिदार बन्नुपर्नेछ ।’
गृहमन्त्री खाँणले वैशाख ३० गते कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन हुने बताए । निर्वाचन निर्धारित समयमा हुँदैन कि भन्ने आशंका नराख्न पनि उनले आग्रह गरे । निर्वाचनमा सहभागी नभएका दलहरूलाई स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आह्वान गरेको जानकारी दिँदै उनले केही दलसँग सरकार निरन्तर छलफलमा रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !