काठमाडौँ । गाडी व्यवसायीहरुको संगठन नाडाको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गाडी आयातमा अबरोध हटाउन आग्रह गरेको छ ।

नाडा अध्यक्ष ध्रुब थापाको नेतृत्वमा गएको टोलीले हरेक वर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजश्वमा योगदान हुने भन्दै गाडीको प्रतितपत्र (एलसी) खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको अबरोध खुलाउन आग्रह गरेको हो ।
सो अवसरमा शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाइ गरिएकाले नआत्तिन सुझाव दिए । उनले भने ‘अहिले देशको अर्थतन्त्र अलि दबाबमा छ । यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने हो, त्यसकारण निजी सवारी साधन आयातमा गरिएको कडाइप्रति आपत्ति नजनाउनुहोला ।’ गाडी आयातको कडाइ केही समयका लागि मात्रै भएको भन्दै उनले धैर्य गर्न सुझाब दिए ।
नाडाका अध्यक्ष थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादनको प्रदर्शनीका लागि उपयुक्त स्थानको अभाव भएकाले सुविधा सम्पन्न प्रदर्शनीस्थलको निर्माणका लागि बजेट बिनियोजन गरिदिन आग्रह गरे । उनले गाडी व्यवसायमा कुल ३ खर्ब ५० अर्बभन्दा बढीको लगानी रहेको तथा देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजार भन्दा बढीलाई अवसर दिएको बताए । छलफलमा उपाध्यक्ष सुनिल रिजालले नेपालका सीमानाकाहरुबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि आग्रह गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !