काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दलले आफ्नो पार्टीलाई अपमानपूर्ण व्यवहार गर्ने गरेको बताएका छन् ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टीको शक्तिलाई अवमूल्यन नगर्न विभिन्न दललाई चेतावनी समेत दिए । अध्यक्ष नेपालले आफूहरूकै कारण केपी ओली सत्ताको सगरमाथाबाट भुईँमा पछारिएको दाबी गरेका छन् ।
उनले केपी ओलीको अहङ्कार अलि कति बढेको र यथार्थभन्दा बाहिर गएर बोलिरहेको उल्लेख गरे । त्यस्तै अध्यक्ष नेपालले चुनावी तालमेलका क्रममा नेताहरूले वास्तविकतामा आधारित रहेर सिटको विभाजन हुनुपर्ने धारणा ब्यक्त गरेका छन् ।
अध्यक्ष नेपालले गठबन्धनमा कुनै पार्टीसँग सहमति हुन नसकेमा एक्लै लड्नुपर्ने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशन दिए । उनले पोखरा महानगरमा ८ हजार पार्टी सदस्यहरू रहेको र जनवर्गीय सङ्गठनको सङ्ख्या जोड्ने हो भने १२ हजार पुग्ने भन्दै आफ्नो शक्तिका आधारमा दाबी गरेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !