काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । शुक्रबार राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले अर्का अध्यक्ष नेपाललाई यस्तो चुनौती दिएका हुन् ।

अध्यक्ष ओलीले पार्टी एकीकरणको बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दूरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘माधव नेपाल र उनी नेतृत्वको पार्टी २२/२३ सिट ल्याउने हुति भएको पार्टी हो ? अब तीन सिट ल्याएर देखाउन त । पार्टी भित्रको कुरा दिइयो खुरुखुरु साथीहरुलाई । अहिले त जसले दौडेर भित्तो छुन्छ त्यो मन्त्री भन्ने प्रतिष्पर्धा पो भयो त । प्रचण्डको ५४/५४ सिट आउने हो चुनावमा । चारवटा सिट आउँदैन भनेर हामीसँग मिल्या होइन !’

उनले थप भने, ‘यो हिजोको चुनावको परिणाम हो । अब आजको चुनावको परिणाम होइन । म साथीहरुलाई भन्न चाहन्छु, अब बैशाख ३० को चुनावको परिणाम र त्यसपछिको चुनावको परिणाम बेग्लै हुन् । अघि खगराजजीले पनि भनिसक्नु भयो । त्यो बेग्लै बनाउन तपाई हामी लाग्नु पर्दछ नागरिकको हैसियतले ।’
यसका साथै अध्यक्ष ओलीले एमालेले हरेक क्षेत्र सुक्ष्म तरिकाले हेरिरहेको बताउँदै भने, ‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु सक्रिय छन् । स्वास्थ्य शिक्षाको हव हुनुपर्छ नेपाल । विश्व हेल्थका निमित्त मोडेल हस्पिटल हुनुपर्छ ।’

















