सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाले व्यवसायिक पशुफर्म सञ्चालनमा टेवा पु¥याउने उद्देश्यका साथ किसानहरूलाई अनुदानमा च्याप कटर वितरण गरेको छ । पालिकाको छ वटै वडामा व्यवसायिक पशुफर्म खोलेका एक सय ४१ जना किसानलाई पशु चारा च्याप कटर मेसिन वितरण गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले जानकारी दिए ।

उनले भनेका छन्, ‘यो वर्ष सोचेभन्दा धेरै किसानहरुको आवेदन आयो । पालिकाले छुट्याएको १० लाख रकम अपुग भएपछि चैत २१ गते विशेष गाउँसभा गरी थप १६ लाख रकम छुट्टयाएर कुल २६ लाखको टेण्डर प्रक्रियाबाट एउटाको ३६ हजार एक सय पर्ने एक सय ४१ वटा मेसिन खरिद गरी सबै किसानलाई वितरण गरिएको छ ।’
कोरोना महामारीसँगै अन्य रोजगारीबाट विस्थापित भएर व्यवसायिक रुपमा पशुपालन फर्म सञ्चालन गरेका किसानहरूको आवश्यक्तालाई बुझेर पालिकाले विगत तीन वर्षदेखि यस्ता मेसिनलगायतका कृषि औजारहरू अनुदानमा उपलब्ध गराउदै आएको पालिका अध्यक्ष हरेराम यादवले बताए ।
महिलाहरूको सामूहिक प्रयासले खोलिएको एक मात्र बाबा डिहीबार बाख्रा पालन फर्मलगायत पालिकाभरी हाल व्यवसायिक रुपमै एक सय ६५ वटा पशु फर्म रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !