काठमाडौैं । नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) द्वारा आयोजित केन्द्रिय कमिटीको प्रथम बैठक तथा विस्तरित भेलालाई सम्बोधनका क्रममा विद्यार्थी राजनीतिको इतिहास र वर्तमान अवस्थाबारे मन्तव्य राखे ।

नेपालको पहिलो शहीदबारे पनि बोलेका अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धनको चक्काको हावा फुस्काइदिए पुग्नेसम्मको अभिव्यक्ति दिए । ‘हामीले धेरै केही गर्नुपर्दैन । यो गठबन्धन चल्न नदिनका लागि ४ वटा चक्का फुकालिदिनुपर्छ र ? इन्जिन बन्द गर्नुपर्छ र ? केही पनि गर्नुपर्दैन, छ्यास्स हावा खोल्दिएपछि सिद्धिन्छ,’ उनले भने ।
नेकपा एमाले प्रवेश गर्नेहरुको लहर जारी रहेको बताउने अध्यक्ष ओलीले २४० वर्ष राज गर्नेहरुसँग एमालेको तुलना नहुने बताए । तर, गुमेको भुभाग समेटेर बनाएको नयाँ नक्सा, ह्वाइ मैदान बनाउने एमालेलाई बदनाम गर्न त्यस्ता तत्वहरु लागिपरेको पनि उनले बताए ।
त्यसपछि अध्यक्ष ओलीले सत्ता गठबन्धनले आफूमाथि लगाएको आरोपको पनि उत्तर दिए । आफूलाई राजासँग दाँज्नेहरुलाई राजा र आफू कसरी मिल्छ भन्दै त्यसको जवाफ अध्यक्ष ओलीले दिए ।
अध्यक्ष ओलीका अनुसार राजालाई पाउँमा दाम राखेर ढोग्ने मान्छे आफू नभएको पनि ठोकुवा गरे । उनले बरु विद्यार्थी, किसान, गरिब र अछुतहरुको पाउँमा दाम राखेर ढोग्ने बताए ।
‘अस्ति सुने केपी ओली राजासँग मिल्छ । कहाँ छ राजा ? र केपी ओलीसँग मिल्छ ? कहाँ छ ? कहाँ छ राजा र केपी ओली मिल्छ ? कस्तो बुद्धि, मानसिकता यिनीहरुको ? अर्काे म सम्झाउन चाहन्छु– वरिपरि परिक्रमा गराएर पाउँमा दाम राखेर ढोग्ने मान्छे केपी ओली होइन,’ उनले भने, ‘केपी ओलीले कसैको पनि पाउँमा, बरु मेरा विद्यार्थी भाइबहिनीहरुको पाउँमा दाम राख्न तयार छु तर, शासकहरुको पाउँमा राख्दिन । गरिब, अछुत, किसानहरको पाउँमा दाम राख्नु ठूलो कुरा होइन । शासकहरुलाई परिक्रमा गरेर दाम राख्ने काम केपी ओलीले गर्दैन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !