काठमाडौं । नेपाली वाङ्मयका क्षेत्रमा योगदान दिएको भन्दै पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई पुरस्कृत गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले उनलाई ‘मनिराज वाङ्मय पुरस्कार २०७५’ बाट सम्मानित गरेको हो ।

यस्तै, विसं. २०७६ को सोही पुरस्कार डा. तुलसी भट्टराईलाई प्रदान गरिएको छ । जनही एक लाख रहेको उक्त पुरस्कार प्रतिष्ठानले मंगलबार राजधानीमा एक समारोहका बीच प्रदान गरिएको छ । यसैगरी, ‘गोदावरी प्रतिभा पुरस्कार २०७५’ पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटा, ‘शास्त्री देवराज आचार्य पुरस्कार २०७५’ डा रामचन्द्र भट्ट र सोही पुरस्कार २०७६ सालको संस्कृतिविज्ञ भरतराज पौडेललाई प्रदान गरियो ।
त्यसैगरी, ‘खड्कबहादुर प्रतिभा पुरस्कार २०७५’ पत्रकार लक्की चौधरी र ‘खप्तड स्वामी सरस्वती पुरस्कार २०७५’ स्वामी ज्ञाननन्द सरस्वतीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही १० हजार छ । कार्यक्रममा पूर्वप्रम चन्दले साहित्यलाई जीवित राख्नका लागि आधुनिक विद्युतीय सञ्चार माध्यमले बढीभन्दा बढी समेट्नुपर्ने विचार व्यक्त गरे । उनले सीप र सिर्जनाको विकासले मुलुक सभ्य र समृद्ध बन्ने बताए ।
उनले भने, ‘मुलुकमा महँगी, भ्रष्टाचार, बेरोजगारी, असुरक्षा र आर्थिक संकट बढ्दै गएको छ ।’ नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानले साहित्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेर नेपाली साहित्यको क्षेत्रमा उत्प्रेरणा जगाउने काम गरेको बताए । उनले समाजलाई गतिशील बनाउन र मानिसलाई ऊर्जाशील गराउनका लागि कला तथा साहित्यको भूमिका विशिष्ट रहने भनाइ राखे । उनले भने, ‘स्रष्टाको सम्मानले साहित्य क्षेत्रमा लाग्ने जोकोहीलाई ऊर्जा मिल्छ ।’
कार्यक्रममा पूर्वमन्त्री बाँस्कोटाले नेपाली साहित्यलाई जीवन्त राख्ने गरी सरकारले शिक्षा नीति ल्याउनुपर्नेमा धारणा व्यक्त गरे । उनले समाजलाई रुपान्तरण गर्न र सचेतता जगाउन साहित्यले महत्वपूर्ण भूमिका खेल्ने जिकिर गरे । सो अवसरमा डा तुलसी भट्टराईद्वारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक (यात्रा संस्मरण) विमोचनसमेत गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !