धनगढी । सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरको सीमाना त्रिनगरबाट ठूलो मात्रामा सुनचाँदीका गरगहना बरामद गरेको छ । मंगलबार बेवारिसे अवस्थामा भेटिएको झोलाभित्र सुनचाँदीका गहना भेटिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए ।

‘भारतबाट भन्सार छलेर वा चोरी गरेर ल्याएको हुन सक्ने सम्भावना छ, यस विषयमा अनुसन्धान भइरहेको छ,’ उनले भने । सुनका झुम्का, सिक्री, बालालगायतका गहना र चाँदीको गिलास बरामद भएको उनले जानकारी दिए ।
सुनका गहना ४ सय ३० ग्राम र गिलास २ सय ७ ग्रामको छ । उक्त सुनचाँदीको बजार मूल्य ३६ लाख ८ हजार ४ सय ९० रहेको अनुमान गरिएको छ ।

















