सिराहा । भिडभाड नियन्त्रण र सेवा प्रवाहमा सहजता ल्याउन आइतबारदेखि जिल्ला प्रशासन कार्यालय सिराहामा टोकन प्रणाली सुरु गरिएको छ। नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलगायतको सेवा प्रवाहलाई व्यवस्थित र सहज बनाउन टोकन प्रणाली जडान गरिएको जिल्ला प्रशासन कार्यालय सिराहाका प्रमुख जिल्ला अधिकारी (सिडीयो) लालबाबु कवारीले जानकारी दिए ।

सिडीयो कवारीले कार्यालयबाट उपलब्ध सेवालाई सहज र व्यवस्थित गर्न टोकन प्रणालीको थालनी गरिएको बताए। दैनिक ४ सय सेवाग्राहीलाई टोकन प्रणालीबाट सेवा प्रवाह गर्ने र अनावश्यक झन्झटको अन्त्य हुने अपेक्षा गरिएको कवारीले बताएका छन्।


टोकन प्रणालीअनुसार आफ्नो पालोमा सेवाग्राहीले सेवा पाउनुका साथै कार्यकक्षको झ्यालअगाडि अनावश्यक भिड कम हुने उनले बताए। टोकन प्रणालीमार्फत सेवा सञ्चालन गर्न धनगढीमाई नगरपालिकाले टोकन मेसिन सहयोग गरेको हो। धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले एक कार्यक्रमबीच टोकन मेसिन हस्तान्तरण गरेका थिए।


















