दाङ । ठगी तथा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका ठेकेदार अनुप पाण्डे १४ दिनपछि छुटेका छन्। उनी शुक्रबार बेलुका छुटेका हुन्।नेकपा एमाले घोराही उपमहानगरपालिका इञ्चार्ज तथा जिल्ला किमिटी सदस्य गेहेन्द्र बस्नेतले पाण्डेविरूद्ध एक करोड ४४ लाख ठगी गरेको भन्दै जाहेरी दिएपछि उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको थियो।

तर, जाहेरी दिने बस्नेतले आफूले रकम पाएको भनेर निवेदन दिएपछि ठेकेदार पाण्डे १४ दिन थुनापछि शुक्रबार बेलुका छुटेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।एसपी काफ्लेका अनुसार जिल्ला सरकारी वकील कार्यालयले कानुनी परामर्शमा १४ दिनको थुनापछि निवेदकले लेनदेनको हिसाब-किताब मिल्यो भनेपछि पाण्डे छुट्ने आधार बनेको बताए।
अनुपलाई उनका मावली हजुरबुवा एमाले नेता टोपेन्द्र केसीको हाजिरी जमानतमा प्रहरीले छाडेको हो।बस्नेतले १ करोड ४४ लाख, उप्रेतीले ३० लाख, सोनापुर सिमेन्टको २ करोड ५१ लाख र मजदुरले ९५ लाख रुपैयाँ प्राप्त गरेको कागजातसहित प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरी कार्यालयले जिल्ला सरकारी वकिल कार्यालयसँगको परामर्शमा अनुपलाई थुनामुक्त गरिएको प्रहरीले बताएको छ।
तर, शुक्रबार मात्रै नेपाली कांग्रेस दाङले जिल्लाकै गौरबको योजनाको रूपमा रहेको चार लेन सडक निर्माणमा भएका ढिलासुस्ती र ठगी गरेको भन्दै ठेकेदार पाण्डेमाथि कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो।नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन बुझाएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !