वीरगञ्ज । मधेस प्रदेशको पर्सा जिल्लाबाट प्रहरीले भारततर्फ लैजाँदै गरेको दुई वटा हात्तीसहित तीन जनालाई पक्राउ गरेको छ ।चितवन भरतपुर महानगरपालिका– १८ जीतपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्साको पकहामैनपुर गाउँपालिका–५ सबैठवाका ३५ वर्षीय सफरोज आलम पक्राउ परेका हुन् ।

महतो र कुमाल माउते हुन् भने आलम हात्ती बिक्री गर्न लैजाने व्यक्ति भएको प्रहरीले जनाएको छ ।

नेपालबाट भारततर्फ हात्ती बिक्री गर्न लैजाँदै गरेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पकहामैनपुर गाउँपालिका–५ पोखरिया टोलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

















