सोलुखुम्बु । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै विभिन्न पार्टीभित्र क–कसलाई उम्मेदवार बनाउने भन्ने रस्साकस्सी चलिरहेको छ । यसैबीच जिल्लाको सोताङ गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का नेता दीपक खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार सोताङको शिवटार बजारमा आयोजित एक कार्यक्रममा नेता खड्काले गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हेम कुमार राई (सुरवीर)ले अध्यक्षका लागि खड्काको उम्मेदवारी घोषणा गरेका थिए ।
कार्यक्रममा उपस्थित माओवादी केन्द्र सोलुखुम्बुका संयोजक असीम राईले मुलुकभरका ७५३ वटा पालिकाहरूमध्येकै पहिलो उम्मेदवारी भएको बताएका छन् । थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्षसमेत रहेका राईले सोताङ गाउँपालिकामा सामाजिक छवि उच्च भएका खड्कालाई उम्मेदवारको रूपमा अघि सारेको जानकारी गराए ।
संयोजक राईले भनेका छन्, ‘आसन्न स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सोलुखुम्बुले सम्भवत ७५३ वटै स्थानीय तहमा पहिलो उम्मेदवार घोषणा गरेको छ । सोताङ गाउँपालिकामा माओवादी केन्द्रले सामाजिक छवि उच्च भएका जनप्रिय नेता दीपक खड्कालाई उम्मेदवारको रुपमा अघि सारेको छ । क. दीपक खडकालाई जीतको करोडौं शुभकामना !’
त्यसोत, नेता खड्काले २०७४ को स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !