काठमाडौं । पछिल्लो समय आर्थिक अपराधको दर बढ्दो छ । यो अपराधको दर बढ्दा समग्र मुलुकको अर्थतन्त्रले चुनौतीको सामना गर्नुपर्ने अवस्था बनेको हो ।

बैंकिङ च्यानलमार्फत आर्थिक कारोबार हुन सक्दा यो अपराधमा कमि आउन सक्छ । बैंक तथा वित्तीय प्रणालीभन्दा बाहिरबाट गरिने कारोवारले आर्थिक अपराध मात्रै होइन, यसको कनेक्सन अन्य गम्भीर प्रकृतिका अपराधसम्म हुनसक्ने खतरा औल्याउँछ ।
महानगरीय अपराध महाशाखाले अघिल्लो आइतबार काठमाडौंको ताहाचलबाट डेढ करोड रुपैंया बरामद ग¥यो । एक भारतीय नागरिकसहित दुइ जनाको साथबाट बरामद भएको यो रकमको स्रोेत खुल्न सकेन । त्यसो त एक महिनाअघि काठमाडौंको बालाजुबाट स्रोत नखुलेको ७० लाख रुपैंया बरामद हुँदा अभियुक्तले सहकारीबाट रकम ल्याएको बताएका थिए ।
पौष १७ गते त्रिभुवन विमानस्थलमा श्रोत खुल्न नसकेको ५० लाख रकमसहित सौर्य एयरलाईन्सकी कर्मचारी विराटनगर–४ की ३३ वर्षीया रेशा शाक्य पोखरेल पक्राउ परिन् ।
यी त प्रतिनिधि घटनामात्रै हो, प्रहरीको तथ्यांक हेर्ने हो भने विगत साउन महिनायता मात्रै प्रहरीले करिब ७ करोड २५ लाख रुपैयाँ श्रोत नखुलेको अवैध रकम फेला पारिसकेको छ । यो आँकडाले सुरक्षा निकायलाई गहिरिएर सोच्न बाध्य पारेको छ ।
यसले राज्य संयन्त्र बाहिर कसरी आर्थिक अपराधको चक्र चलिरहेको भन्ने देखाउँछ । हुण्डीसँगै कतिपय सहकारी क्षेत्रबाट हुने कारोवार समेत निगरानी बाहिर हुँदा गम्भीर आर्थिक अपराधको जोखिम बढेको देखिन्छ ।
पछिल्लो चार वर्षमा मात्रै स्रोत नखुलको ३५ करोड रुपैंया प्रहरी नियन्त्रणमा आएको छ । बरामद रकम थप अनुसन्धानका लागि प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग पठाउने गरेको थियो । तर विभागले पनि लाखौं रुपैयाँ बोकेर हिंडनेहरु किन बैंकिङ प्रणालीमा जाँदैनन् भन्ने पत्ता लगाउन सकेको छैन ।
यस्तो रकम राजश्व छलीसँग पनि जोडिने भएकोले प्रहरीले अहिले राजश्व अनुसन्धान विभागलाई अनुसन्धानको जिम्मा लगाउने गरेको छ ।
पछिल्लो समय जुन दरमा अवैध रकम बरामद हुन थालेको छ, यसले सम्भावित ठूलो जोखिमको संकेत गरिरहेको छ । बैंकिङ प्रणालीमा तरलता अभाव हुने, तर बाहिर नगद कारोबारीसँग ठूलो परिमाणमा रकम भेटिनु स्वाभाविक घटना हुन सक्दैन ।
प्रहरीले एकाध घटनामा नगद बोक्नेहरुलाई समाते पनि कारोबारको मुल स्रोतसम्म पुग्न सकेको छैन । अबका दिनमा यस गम्भीर विषयलाई नियन्त्रण गर्न प्रहरी संयन्त्रबाट विशेष कदम आवश्यक रहेको देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !