काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गरेका हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए। वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जति समर्थक जुटाएका छन्, आलोचक पनि त्यत्ति नै बढाएका छन् ।

चुनाव जितेयता पार्टी लाइनअनुसार काम नगरेको भन्दै आफ्नै पार्टी जनता समाजवादी पार्टीका नेताहरू समेत असन्तुष्ट थिए । एकातिर पार्टीले दोहोर्याएर टिकट दिने नदिने अनिश्चित, दिइहालेपनि जित्न कठिन छ भन्ने बुझेका उनी यो पटक पार्टी परिर्वतन गर्न चाहन्थे । ताकि फेरि मेयर बन्न सहज होस् ।
सरावगीको चाहना नेपाली कांग्रेसमा प्रवेश गर्ने थियो । विद्यार्थी जीवनमा नेविसंघको राजनीति गरेको र शेरबहादुर देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गर्दा साथ दिएको नाता पनि थियो । त्यसैले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई भेटेर पार्टी प्रवेश गर्न चाहेको बताएका थिए ।देउवाले आफू निकट केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रमेश रिजाललाई भेट्न सुझाए । सरावगीले पर्साका नेता रिजाललाई भेटेर कुराकानी पनि गरे ।
तर मेयरको टिकट पनि दिनुपर्ने भएकाले रिजालले पार्टीका अरू नेताहरुको राय बुझे । नेताहरुले ‘साह्रै अनपपुलर छ, उनलाई पार्टीमा ल्याएर बद्नामी बोक्नु हुँदैन, छोडिदिनुस्’ भनेपछि आफूले धेरै चासो देखाएको कांग्रेस नेता रिजाल बताउँछन् ।२०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा निर्वाचित सरावगीले १९ हजार ३९३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीले १९ हजार १९७ मत पाएका थिए ।
सरावगीसँग करिब दुई सय मतले कांग्रेसका उम्मेदवार पराजित भएका थिए । तर उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार शान्ति कार्की निर्वाचित भएकी थिइन् र उनले मेयर सरावगीले भन्दा पनि बढी मत पाएकी थिइन् । कार्कीले १९ हजार ६०७ मत पाउँदा उनकी निकटतम प्रतिद्वन्द्वी तत्कालीन समाजवादी फोरमकी पिंकी यादवले १८ हजार पाँच सय ३० मत पाएकी थिइन् । कांग्रेसले भाउ नदिएपछि सरावगी एमालेतिर लागे । सरावगीले पूर्वमन्त्री मोती दुगडमार्फत् एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पार्टी प्रवेशको प्रस्ताव पुर्याए ।
‘जसपाबाट मैले छोड्ने कारणहरु छन्। त्यो सबैलाई थाहा छ, आम जनतालाई थाहा छ, एउटा राम्रो मान्छेलाई पार्टीले टिकाएर राख्न सकेन,’ मेयर सरावगीले भने, ‘अहिले पनि जातिवादकै राजनीति भइरहेको छ। जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन सकिँदैन राष्ट्रिय पार्टी भनेको एमाले नै हुन सक्छ।’आफू एमाले प्रवेश गर्नुको कारणसमेत उनले खुलाएका छन्। ‘म यस पार्टीमा झन्डै नआउने स्थितिमा थिएँ, कुनै अर्को पार्टीमा गइराखेको थिएँ। तर पूर्वमन्त्री मेरा साथी, मेरा दाई मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो,’ उनले भने, ‘त्यसपछि एमालेमा आएँ।’कार्यक्रममा मेयर सरावगीले एमाले अध्यक्ष ओलीको प्रशंशासमेत गरेका थिए।
सरावगीले भने, ‘म अर्कै पार्टीमा गइसकेको थिए । पूर्वमन्त्री मोती दुगडजीले बीच बाटोमै समातेर ओलीजीसँग भेटाइदिनुभयो । त्यसपछि एमालेमा आएँ ।’जसपा नेताहरुलाई सरावगीले पार्टी छाड्दैछन् भन्ने थाहा नभएको होइन । तर मेयरमा निर्वाचित भएदेखि नै पार्टीलाई सहयोग नगरेको र जनप्रतिनिधिको रूपमा गरेको काम पनि सन्तोषजनक नभएकाले रोक्न प्रयास नगरेको पर्साका जसपा नेता प्रदीप यादव बताउँछन् ।
एमालेले अघिल्लो स्थानीय चुनावमा मेयरको उम्मेदवार बनाएका नेशनल मेडिकल कलेजका सञ्चालकसमेत रहेका बसरुद्दिन अन्सारी अहिले पनि पार्टीमै छन् । तत्कालीन राजपाबाट मेयरमा प्रतिस्पर्धा गरेका राजेशमान सिंह एक महिना पहिले मात्र एमालेमा प्रवेश गरेका थिए ।उनी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर २८ माघमा एमाले प्रवेश गरेका हुन् ।
उनी पनि वीरगञ्जको मेयरको उम्मेदवार बन्ने सहमतिमा एमाले प्रवेश गरेका उनी निकटहरू बताउँछन् । एमाले नेताहरू भने सिंहलाई प्रदेशसभा सदस्य र सरावगीलाई मेयरमा उम्मेदवार बनाउने विकल्प देख्छन् । नीहरूकाअनुसार जसपामा असन्तुष्ट रहेको प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवलाई पनि पार्टी प्रवेश गराउने प्रयास भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !