काठमाडौं । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडमा भएको शंकास्पद लगानी र बैंकिङ कारोवारवारे अध्ययन गर्न सरकारले अध्ययन समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सहसचिव होम लुईटेलको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिमा चार्टर्ड एकाउन्टेण्ड पियुस आनन्द, अधिवक्ता बसन्त बस्नेत, महेन्द्र थापा सदस्य छन् । मन्त्रालयका उपसचिव टेकनारायण पौडेललाई सदस्यसचिव तोकिएको छ । समितिले एक साताभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।
सरकारले २०४९ सालमा नेपालको पर्यटन विकासका लागि भन्दै तारागाँउ विकास समितिको लगानीमा तारागाँउ रिजेन्सी होटल्स लिमिटेड स्थापना गरेको थियो । निजी क्षेत्रबाट राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठ समूहको लगानीमा तारागाँउले करिव ३० प्रतिशत लगानी गरेको थियो ।
सर्राफ-श्रेष्ठ समूहले विचमा होटलमा भारी खर्च देखाएर तारागाँउको हिस्सा करिव ९ प्रतिशतमा सीमित गरेका थिए । यसैवारे अध्ययन गर्न समिती गठन भएको हो । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले अहिले बौद्धमा हायात ब्राण्डमा होटल सञ्चालन गरिरहेको छ ।
‘बैदेशिक लगानी भित्र्याएको भनिएपछि राष्ट्र बैंकको च्यानलबाट आएको देखिएन । हायात होटलकी वित्त प्रमुख रानी बाङमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानविन गरिरहेको छ ।
