काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने भएको छ । आउँदो सालको वैशाख ३० गते तोकिएको उक्त निर्वाचन बहिस्कार गर्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेको हो ।

यही फागुन २५ गतेदेखि २९ गतेसम्म बसेको उक्त पार्टीको केन्द्रीय समिति बैठकले महासचिव वैद्यले ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकको राजनीतिक प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावमा स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने मूल एजेन्डा रहेको बताइएको छ ।
वैद्यको उक्त प्रस्तावमा ‘प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग र स्वच्छ तथा निष्पक्ष निर्वाचनको सम्भावना नरहेको’ भन्दै बहिस्कार गर्ने उल्लेख गरिको जनाइएको छ ।
साथै ‘संसदबाट राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, एमाले लगायत दलहरूद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको र त्यसको अझै भण्डाफोर गर्न जरुरी भएको तथा निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने संभावना नरहेको लगायत कारण उल्लेख गर्दै निर्वाचन बहिस्कार गर्ने निर्णय पारित भएको एक विज्ञप्तीमार्फत जनाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !