इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्माले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता नेपालको हितमा रहेको बताएका छन् । कांग्रेस सुनसरीले आज सुनसरी सदरमुकाम इनरुवामा ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री विश्वकर्माले विभिन्न राजनीतिक दलले एमसीसीको विषयमा फैलाएको भ्रममा कुनै किसिमको सत्यता नभएको उनले बताए ।

एमसीसी परियोजना केवल विकास परियोजना मात्र भएको र उक्त परियोजनाले नेपालको विकासमा कोसेढुङ्गा सावित हुने पूर्वमन्त्री विश्वकर्माले बताए । एमसीसी अन्तर्गत नेपालमा सडक पूर्वाधार, विद्युत् विस्तारलगायत काममा सहयोग पुग्ने उनले बताए ।
यसैबीच नेपाली कांग्रेस सुनसरीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एकमहिने चुनावी अभियान सुरु गरेको छ । केन्द्रीय निर्देशन तथा परिपत्रअनुसार कांग्रेस सुनसरीले निर्वाचनलाई लक्षित गरेर एक महिने चुनावी अभियान आजदेखि सुरु गरेको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए ।
यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धिलगायत विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझाव लिने कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !