काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ति नरहेको बताएका छन् । आइतबार काठमाडौंमा नेपाल नगरपालिका संघको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तह भन्दा आपत्ति भए स्थानीय सरकार बनाउन सकिने तर यसका लागि दलीय सहमति भने जुट्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको भन्दै शव्दमा आपत्ती जनाउन नहुने धारणा राखे । त्यस्तै उनले मुलुक र जनतालाई केन्द्रबिन्दूमा राखेर जनप्रतिनिधिहरुले सेवा प्रवाहमा ध्यान दिनुपर्ने उल्लेख गरे ।
स्थानीय तहको बिकास निर्माणका साथै नीति निर्माण र कार्यान्वयनमा जनतालाई प्रत्यक्ष सहभागी गराउनुपर्नेमा उहाले जोड दिए । प्रधानमन्त्री देउवाले देशभरका नगरलाई व्यवस्थित, विकसित र स्वच्छ बनाउन नगरपालिकाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने पनि बताए ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले बिभिन्न बिधामा उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेका थिए । नगरपालिका संघले गरेको मूल्याङ्कनबाट संस्थागत विकासतर्फ उत्कृष्ट काम गरेकोमा स्याङ्जाको वालिङ नगरपालिका र पुतलीबजार नगरपालिका पुरस्कृत भएका छन् ।
त्यस्तै सहरी योजना तथा विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत धादिङको निलकण्ठ नगरपालिका पुरस्कृत भएको छ । वन, वातावरण र जलवायु परिवर्तन तथा उत्थानशीलताको क्षेत्रमा इलाम नगरपालिका पुरस्कृत भएको छ ।
त्यस्तै स्थानीय स्रोत परिचालन गरेर स्थानीय आर्थिक विकास गर्नेमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट भएको भने सामाजिक विकासको विधानमा रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !