काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता पोष्टबहादुर बोगटीको निधनपछि आफूले दुःख पाएको बताएका छन् ।शनिबार नुवाकोटको विदुरमा बोगटीको पूर्णकदको शालिक अनावरण गर्दै प्रचण्डले उनको निधनबाट सबभन्दा बढी क्षति पार्टी हेडक्वार्टरलाई भएको बताए ।

उनले भने, ‘उहाँ नहुँदा अहिले पार्टीभित्र असाध्यै दुःख भोग्ने दुःखी पात्र म बन्न पुगेको छु ।’पार्टीमा बेलाबेला देखा पर्ने अन्तरसंघर्षले सीमा नाघ्दा बोगटीले नै मिलाउने गरेको उनले सम्झिए ।
बोगटी जहाँ समस्या आउँछ, त्यसको समाधान गर्ने व्यक्ति जस्तै बनेको भन्दै स्मरण गर्दै उनले भने, ‘डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण म लगायत हामीहरु सिनियर थियौं । तर उहाँले टेबल ठटाएपछि हामी वरिष्ठ भन्ने नेताहरुको करिव करिव सातो जान्थ्यो ।’
डाक्टर र वैद्यले आफूलाई साताएको बेला बोगटीले नै संकट टार्ने गरेको उनले सुनाए ।माओवादी केन्द्रका नेता बोगटीले ३० भदौ २०७१ मा निधन भएको थियो ।

















