काठमाडौं । अर्थविद् तथा राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले भ्रष्टाचारको साधन बन्दै आएका पाँच सय र हजारका नोट इमान्दारिताका साथ नोटबन्दी (डिमोनिटाइजेशन) गर्ने हो भने अदभूत नेपाल निर्माण हुने बताएका छन् ।

नोटबन्दीका विषयमा चर्को बहस भइरहेको बेला कर्पोरेट नेपालसँग सोमबार कुरा गर्दै उनले नेपालको निकै ठूलो अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन इमान्दारितापूर्वक गरिने नोटबन्दीले योगदान गर्ने बताए ।
उनले यस्तो साहसिक निर्णय गर्नसक्ने आँट भएको नेतृत्व र क्षमता राज्यसँग नरहेको बताए । आचार्यले यस्तो नोटबन्दी गर्दा धेरै अनौपचारिक क्षेत्रमा काम गर्नेदेखि न्यून आयस्तरका मानिसहरु पीडित हुने सक्ने भएकाले उनीहरुलाई जोगाएर कालोधन लुकाउनेहरुप्रति मात्रै निर्मम भएर गर्नसक्नुपर्ने बताए ।
उनको भनाईः
पाँच सय र हजारको नोट छ, त्यो तकियामुनी राखेर मानिसहरु बस्न थालेका छन् । चुनाव नजिक आउँदैछ । चुनावमा नगदको डिलिङ बढी हुन्छ । यसमा कर्मचारीतन्त्र र राजनीतिक दलका नेताहरुले क्यास डिलिङ गर्छन् । त्यो डिल गर्ने भनेको ब्ल्याक मनी हो । शंकै भएन् ।
चुनावमा हुने यही कालोधनको कारणले नै हाम्रो चुनाव विकृत हुँदै गएको पनि हो । गलत मानिस चुनाव जितेर आउने, उनीहरु नै सत्तामा हावी हुने, इमान्दार मानिस राजनीतिबाट नै पलायन हुने, भ्रष्टाचार बढ्ने, अपराधले प्रशय पाउने यही पैसाले नै हो ।
नेपालमा समानान्तर अर्थतन्त्र पनि छ जसमा बढी नगद नै चल्छ । यो कुरा जगजाहेर छ । तर रोक्न सकैले सक्दैन् । चाहँदैन् । मेडिकल कलेजले ब्याक डोरबाट लिने पैसा पनि नगदमै लिन्छ । बैंकबाट लिँदैन् । जग्गा दलालको पनि त्यही हो । हुण्डीको पनि नगदमै हो । यस खालको समानान्तर अर्थतन्त्रको आकार मेरो बुझाईमा २० खर्बभन्दा माथिको होला ।
यो खालको अनौपचारिक अर्थतन्त्र मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा पनि आउँदैन् । यो चाहीं हाम्रो मुलुकको एउटा क्यान्सर नै हो । पाँच सय र हजारका नोट नोटबन्दी गर्ने बित्तिकै के हुन्छ भने अनौपचारिक क्षेत्रको जुन रोजगारी छ, सानो सानो जुन नगदमा पारिश्रमिक बुझ्छन्, नगदमा डिल गर्छन्, त्यस्तै किराना पसल पनि, जुन बैंकसँग जोडिएको छैन् । जुन सुचना प्रविधिसँग जोडिएको छैन्, उनीहरुलाई यसले असर पर्छ । नेपालमा अनौपचारिक क्षेत्रमा रोजगारी ६० प्रतिशत रहेको अनुमान छ ।
यस्तो सानसानो रोजगारी सिर्जना गर्ने कुटिर उद्योगहरु नगदमै पारिश्रमिक दिन्छन् । दैनिक ज्यालादारी गर्ने मानिस नै नेपालमा १२ देखि १८ लाख हुनसक्ने छ भनिएको छ । उनीहरु दर्ता छैनन् । पाँच सय र हजारका नोट प्रतिवन्ध गर्ने बित्तिकै सबै रोजगारी गुम्छ ।
इण्डियाको डिमोनिटाइजेशन (नोटबन्दी)को सबैभन्दा ठूलो समस्या के भयो भने अनौपचारिक क्षेत्रलाई धरासायी नै बनायो । नेपालमा हेर्ने हो भने औपचारिक क्षेत्रमा जम्मा छ प्रतिशत रोजगारी छ । इण्डियाको प्रयोग पूर्णरुपमा असफल भयो । उसले रातारात नोटबन्दीको घोषणा गरे पनि बैंकमा पैसा साट्न आउनु भनेकै थियो । पैसा पनि आयो । झन के भयो भने अवैध रकम पनि वैध भएर आयो ।
त्यसकारण नेपालले डिमोनिटाइजेशनको निर्णय गर्दा थेग्न सक्छ कि सक्दैन् । सक्यो भने नेपालको अर्थतन्त्रलाई साह्रै राम्रो हो । नेपालको अर्थतन्त्रलाई औपचारिक क्षेत्रमा ल्याउने अचुक उपाय हुनसक्छ यो । जो अहिले पाँच सय र हजारका नोट दबाएर बसेका छन्, तकियामुनी राखेर सुतेका छन् । कसैले डस्ना र सिरकमुनी घुसारेका छन् ।
जो मानिस त्यो गरिरहेका छन्, उनीहरुको नै सुचनामा पहुँच हुन्छ । सत्तामा पहुँच हुन्छ । कालोधनलाई नै सेतो बनाउन उनीहरु सक्छन् । जसको पहुँच छैन्, जो मानिस दुर्गम क्षेत्रमा छन्, जहाँ बैंकिङ सेवा नै राम्रो छैन्, जो मानिस नगद कारोबार गर्न बाध्य छन्, ती मानिसले दुःख पाउँछन् । चोट्टाहरु, कमिशनखोरहरु, विचौलियाहरु नेता र कर्मचारीसँग मिलेर आफ्नो पैसा साटिहाल्छन् ।
नोटबन्दी इमान्दार प्रयत्न हो भने यसलाई सम्बोधन गर्नुपर्ने कहाँ हो भने जो रियल मनी लिएर बसेको छ, त्यसलाई मर्का नपर्नेगरी गर्नुपर्छ । जसले कालोधन लिएर बसेको छ, उसलाई निर्ममतापूर्वक प्रहार गर्नसक्नुपर्छ । तर हाम्रो राज्यसँग त्यो क्षमता नै छैन् ।
भ्रष्टाचार नेपालमा सबैलाई थाहा छ । प्रधानमन्त्रीले गर्दैन कि, अर्थमन्त्रीले गर्दैन कि, कर्मचारीले गर्दैन कि, लोकसेवामा छैन कि, हरेक सरकारी निकायमा छैन कि । नेपालमा सरकारी क्षेत्रबाट हुने कुनै पनि काममा घुस नहुने बिरलै होला । सानो घुस खरदार, बैदारले गर्लान् । तर ठूलठूलो कमिशन ठूलाले नै गर्छन् ।
म पनि केही समय सिंहदरबारमा बसेको । करोडौं, अर्बौंको घुस लेनदेन हुन्छ । सबेले देखेकै हो । म प्रत्यक्षदर्शी पनि छु । मैले आफ्नै आँखाले देखेको छु । कस्ले गर्यो ? किन गर्यो ? के कारणले गर्यो ? त्यो भन्न सक्दिन होला । त्यति आँट मसँग छैन् । तर मलाई थाहा छ मेरो स्टेट, मेरो सरकार भ्रष्टाचारबिना बाँच्न सक्दैन् ।
काठमाडौंको अहिलेको तामझाम नै भ्रष्टाचार हो । नेपालको निजी स्कुल, निजी अस्पताल, निजी कलेज आदिको जति निजी क्षेत्र छ, त्यसमा पनि भयंकर ठूलो भ्रष्टाचार छ । निजी बैंकहरुको सानो भ्रष्टाचार छैन् । दश दिन मात्रै कसैले पनि भ्रष्टाचार नगर्ने हो भने काठमाडौंका अधिकांश रेष्टुरेन्टहरु बन्द हुन्छ । अधिकांश मेडिकल कलेज, भाडामा लागेका घरहरु बन्द हुन्छन् । एक पटक कसैले यो नोटबन्दी गर्ने आँट गर्यो भने अदभूत नेपाल देखिन्छ ।
भ्रष्टाचारले नै नेपालको समानान्तर अर्थतन्त्र चलाइरहेको छ । एग्रिगेट डिमाण्ड बढाइरहेको छ । बैंकमा तरलता नभएको मात्रै हो । बजारमा कहाँ पैसा कमी छ र ? पैसैपैसा छ । तर कहाँ छ ? खोज्नैपर्छ । कर्पोरेट नेपालबाट

















