जनकपुर । धनुषामा आफ्नै साथीलाई गोली प्रहार गरी फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।जनकपुरधाम उपमहानगरपालिका-१९ शिवपुरस्थित मामाको घरमा बस्दै आएका कमला नगरपालिका-८ निवासी १८ वर्षीय मुकेश मुखियामाथि शनिबार राति गोली प्रहार भएको थियो ।

मुखियामाथि गोली प्रहार गरेको आरोपमा जनकपुरधाम १९ कै रुपेश यादवलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।यादवलाई भारततर्फ भाग्दै गरेको अवस्थामा नेपाल भारतको सीमाक्षेत्र धनौजी गाउँपालिका-४ बाट नियन्त्रणमा लिइएको बस्नेतले बताए ।
उनलाई पक्राउ गरी सोधपुछ गर्दा मुखियामाथि गोली प्रहार गरेको स्वीकारेको प्रहरीको भनाइ छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
शनिबार राति आफ्नो मामाको किराना पसल अगाडि बसिरहेका मुखियामाथि पेस्तोलले गोली प्रहार गरिएको थियो । चिउँडोमा लागेको गोली घाँटीमा गएर अडकिएपछि उनलाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लगिएको छ ।यादवले एक्कासी मुखियामाथि गोली चलाएको पाइएको प्रहरीले जनाएको छ ।

















