रौतहट । दुई पक्षको आपसी विवादले उग्र रुप लिएपछि नेपाली कांग्रेस रौतहटको आज हुने भनिएको १४ औं जिल्ला अधिवेशन अन्र्तगतको निर्वाचन स्थगित भएको छ । शनिबार विहान ९ बजेदेखि सदरमुकाम गौरमा हुने भनिएको निर्वाचन आपसी विवाद भएपछि सूचना टाँस गरेर अर्को सूचना जारी नभइन्जेलसम्मको लागि स्थगित गरिएको हो ।

जिल्ला सभापतिको लागि प्लानल बनाएर प्रतिस्पर्धामा उत्रिएका संस्थापन पक्षका सुनिल यादव र कोराइला प्यानलका हृदय नारायण यादव समूहबीच मतदाता प्रमाण–पत्र उपलब्ध नगराएको विषयमा विवाद सुरु भएको थियो । विवाद भएर निर्वाचन स्थगित भएपछि मतदान गर्न बिहानैदेखि मतदान गर्न लाइनमा बसेका मतदाताहरु निराश भएर घर फर्किएका थिए ।
हृदय नारायण प्यानलबाट सचिव पदका उम्मेदवार सुमन गौतमले क्षेत्र नम्बर ३ मा वडा प्रतिनिधि जितेकाहरुलाई निर्वाचित भएको प्रमाण–पत्र नदिइकन सुनिल यादव समूहले उनीहरुको सट्टा फर्जी व्यक्तिहरुलाई मतदान गराउन लागेकाले विवाद भएको बताए । उनले सुनिल यादव समूहले दादागिरी शैलीमा शैलीमा फर्जी मतदाता प्रयोग गरेर जालझेल गरेकाले समस्या उत्पन्न भएकाले आजको निर्वाचन प्रक्रिया स्थगित भएको बताए ।
सुनिल यादव पक्षका नेता रविनचन्द्र कोइरालाले भने फागुन १९ गते बेलुका प्रमाण–पत्र सम्बन्धी विषयमा दुई पक्षबीच प्रमाण–पत्र नपाएका वा हराएका प्रतिनिधिहरूको हकमा परिचय खुल्ने कुनैपनि परिचय पत्र भए भोट हाल्न पाउने भनि जिल्ला निर्वाचन अधिकृतको उपस्थितिमा लिखित निर्णय भएको थियो ।
तर, शनिबार भने पोलिङ्ग एजेन्ट पनि नियुक्ति गरेपछि केही नेतागण निवार्चन नगराउन लागिपरेकाले निर्वाचन स्थगित भएको बताइएको छ । उनले निर्वाचन स्थगित हुनु दूर्भाग्यपूर्ण भएको भन्दै यसलाई कार्यकर्तामाथिको अन्यायको संज्ञा दिएका छन् । स्थगित भएको निर्वाचन कार्यक्रम अब २३ गते सोमबार हुने जिल्ला निर्वाचन अधिकृत दिपक राज रेग्मीले जानकारी दिए ।
उनले आज गर्ने भनिएको निर्वाचनमा केही प्राविधिक समस्या आएको र निर्वाचन कमिटीले गर्नुपर्ने कार्यव्यवस्था गर्न ढिलाई भएकाले निर्वाचन स्थगित गर्नुपरेको जनाउँदै अब सोमबार निर्वाचन गर्न दुबै पक्षबीचमा लिखित सहमति भएको जनाए ।सम्झौता पश्चात सभापतिका दुवै उम्मेदवारले सोमबार हुने निर्वाचन सबै मतदाताहरुलाई सहभागिता जनाउन आग्रह गर्दै जिल्ला अधिवेशनमा सफल बनाउन आग्रह गरेका छन् ।
कांग्रेसको विधानत एकजना सभापति, दुई जना उपसभापति, सचिव र उपसचिव रहने प्रावधान छ ।उपसभापतिमा संस्थापन पक्षबाट धिरेन्द्रकुमार सिंह र रामलोचनप्रसाद कलवार तथा कोइराला पक्षबाट मोहम्मद महताब आलम र विनोद गुप्ता चुनावी मैदानमा छन् । त्यसैगरी सचिवमा संस्थापन पक्षका राजेश चौधरी, सुभास कोइराला र कोइराला पक्षका सुमन गौतम, रामचन्द्र गिरी लगायतले उम्मेदवारी दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !