काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको २४औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयनमा ल्याई यस्ता कार्यक्रमलाई डिजिटल सेवामा सञ्चालन गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरिरहेकोले अझै यस्ता प्रकारका कार्यका लागि प्राधिकरणले भूमिका खेल्नुपर्ने बताए ।

संचार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आफू नेपाल टेलिकमको अध्यक्षसमेत भएको भन्दै सेवाको गुणस्तरका विषयमा आफुलाई पनि अनुगमन र नियमन गर्न नेपाल दूरसंचार प्राधिकरणलाई आग्रह गरे ।
प्राधिकरणले पटकपटक मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को भाका सार्दै वैशाख मसान्त पु¥याएकोमा असन्तुष्ट सचिव अर्यालले छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन प्राधिकरणलाई निर्देशन दिए । ग्रामीण दूरसंचार विकास कोष (आरटीडीएफ) बाट स्रोत परिचालन गरी सेवा विस्तारमा ठेक्का पाएका सेवा प्रदायकहरूले के कसरी काम गरिरहेको छ भन्नेमा दूरसञ्चार प्राधिकरणले अनुगमन तथा गहिरो मूल्यांकन गरी लक्ष्यअनुरूप छ छैन भन्नेमा जोड दिनुपर्ने अर्यालले बताए ।
अर्यालले प्राधिकरणसँग आर्थिक स्रोत भएको तर अन्य क्षमताहरू भने विकास गर्नुपर्ने सुझाव दिए । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले वैशाखसम्ममा एमडीएमएस लागू हुने बताए ।सरकारको डिजिटल नेपालको अवधाराणालाई टेवा पुग्ने गरि धेरै काम भएको बताए । ग्रामिण दूरसञ्चार पहुँच निर्माणमा काम भइरहेकोले गुणस्तरिय सेवा प्रदान गर्न लागि परेको बताए।
सूचना महामार्ग फाइबर डक्टिङ, ब्रोडब्यान्ड निर्माणलगायतको कामले गति लिएको उनले जानकारी दिए । उनले अन्तरनिकाय समन्वयन नभएकोले कामगर्नै कठिन हुने गरेकोले त्यसलाई मिलाउन मन्त्रीलाई अनुरोध गरेका थिए। उनले यूटीएल ले हडपेर राखेको गण्डकी प्रदेशको सूचना महामार्ग निर्माणको काम पनि सुरू गराउनुपर्ने बताए । ‘पूर्वका दुई खण्ड र पश्चिमका दुई खण्ड सकिने तर मध्य भागको एक खण्ड यसै रहने हो भने हामी जोडिन सक्दैनौं यसर्थ यो काम छिट्टो होस,’ उनले भने ।

















