मोरङ । उर्लाबारीबाट नेकपा एमालेका स्थानीय नेता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुले बाहिर प्रहरी आउने आशङ्का गर्दै सिसीटिभी जडान गरेर जुवा खेलेको पाइएको प्रहरीको भनाइ छ ।

जुवाको खालबाट प्रहरीले उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारीका १ कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बाँस्तोला, झापा दमकका सूर्य प्रसाईं, उर्लाबारीका गोबिन्द केसी र शिव लिम्बूलाई पक्राउ गरेको छ ।
पक्राउ परेका जुवाडेलाई अहिले इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । प्रहरीले उनीहरुको खालबाट २ लाख ४२ हजार रुपैयाँ बरामद गरेको छ । नेता प्रधानको घरमा दिनदहाडै तासको खाल बनाएर जुवा खेलाउने गरेको गोप्य सूचनाको आधारमा जिल्लाबाट गएको प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीलले उनीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका प्रधान स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट उर्लाबारी ७ मा वडाध्यक्षमा उठेका थिए । पक्राउ परेका जुवाडेलाई म्याद थप गरि अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मन्जिल मुकारुङले जानकारी दिए ।

















