धनगढी । नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार नारायणदत्त भट्ट विजयी भएका छन् ।

बिहीबार भएकाे पुन: मतदानबाट पहिलो चरणमा सर्वाधिक मत ल्याउने प्रकाश बमलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् । भट्टले १३५९ मत ल्याए भने प्रतिद्वन्द्वी बमले १०९६ मत पाएका छन् ।
बिहीबार बिहान भएकाे पुन: मतदानमा २४६७ मत खसेकाे थियाे । गत आइतबार भएकाे पहिलो चरणकाे मतदानमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन: मतदान भएकाे थियाे ।
सभापतिकाे प्रतिस्पर्धाबाट पहिलाे चरणमै बाहिरिएका शेखर काेइराला पक्षका रामप्रसाद कलेलले बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै बमलाई साथ दिने घाेषणा गरेका थिए । तर काेइराला पक्षकाे साथ पाएर समेत बमले पहिलो चरणमा पाएकाे मत समेत कटाउन सकेनन् ।बम र भट्ट संस्थापन पक्षकै उम्मेदवार भएपनि भट्ट नै आधिकारिक उम्मेदवार थिए । उनलाई देउवासहित कैलालीका प्राय सबै केन्द्रीय सदस्यहरूले साथ दिएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !