हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको १४औं जिल्ला अधिवेशनबाट बुद्ध लामा सभापतिमा चयन भएका छन् । सभापतिको लागि उम्मेदवारी परेकामध्ये आनन्दराम पराजुली र जयराम लामिछानेलाई पहिलो चरणमा उछिनेका लामा सहमतिमा सभापति चुनिएका हुन् ।

पहिलो चरणको निर्वाचन परिणाम अनुसार लामाले सबैभन्दा बढि ५ सय ९५ मत ल्याएका थिए भने पराजुलीले ५ सय ४५ र लामिछानेले ५ सय ३१ मत प्राप्त गरेका थिए ।खसेको १ हजार ७ सय ७५ मतमध्ये सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनु पर्ने भएपनि आन्तरीक सहमतिको आधारमा लामालाई सभापति चयन गरीएको बताइएको छ ।
तेश्रो बनेका लामिछाने निर्वाचन प्रक्रियाबाट बाहिरीएपछि लामा र पराजुलीको बिच पुनः मतदानको प्रक्रिया थाल्ने तयारीको अवस्थामा लामाको पक्षमा सहमति जुटेको थियो ।नजिकिदै गरेको स्थानिय तहको निर्वाचनलाई समस्या पर्ने भन्दै पार्टीको केन्द्रीय तहका शीर्ष नेताबाट हस्तक्षेप भएपछि लामालाई सभापति पद सुम्पिन पराजुली तयार भएका थिए ।उनीहरु दुवै संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।
कांग्रेस मकवानपुरले २०४६ सालपछि पहिलो पटक तामाङ समुदायबाट नेतृत्व पाएको हो । यसअघि २०४६ साल अघि सूर्यबहादुर डिम्डुङले नेपाली कांग्रेसको नेतृत्व गरेका थिए ।दोश्रो चरणको निर्वाचन प्रक्रिया थाल्नुअघि कांग्रेसकी सह-महामन्त्री महालक्ष्मी उपाध्याय डीना र प्रदेश सभापति बानियाँको पहलमा लामा र पराजुलीबीच सहमति भएको थियो ।

















