चितवन । चितवनको खैरेनी नगरपालिका वडा नम्बर–८ बाट प्रहरीले भन्सार छलीको कपडा र फलामको छड बरामद गरेको छ । वीरगञ्जबाट भित्रिएका ४ वटा ट्रक चेकजाँच गर्दा ८६ पोका भन्सार छलीको कपडा बरामद गरिएको चितवनका एसपी नवराज अधिकारीले बताए ।

फलामको छडभित्र सो कपडा लुकाएर ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय खैरेनीका इन्स्पेक्टर सुवास भट्ट नेतृत्वको टोलीले सो सामान बरामद गरेको थियो । ट्रकबाट १ करोड ४५ लाख मूल्यको कपडा र ८८ लाख मूल्य बराबरको फलामको छड प्रहरीले बरामद गरेको छ ।
फलामको छडको चाहिँ बीज बिजक भएको प्रहरीको भनाई छ ।प्रहरीले ना ६ख ११३, ना ६ख ११६६, ना ६ख ५०६१ र ना ७ख ९२३४ नम्बरको ट्रक तथा सो ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । ट्रक र सामान सहित ३ करोड ४९ लाख मूल्याङ्कन गरेर वीरगञ्ज भन्सारमा पठाउन लागिएको एसपी अधिकारीले जानकारी दिए ।

















