काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिनाटिकट बिनाभिसा कतारको दोहा जान लागेका एक युवक पक्राउ परेका छन् ।गत सोमबार ९ फागुनमा दुबई उड्न लागेको नेपाल एयरलायन्सको विमानको ढोकामा एक व्यक्ति विना बोर्डिङपास विमानभित्र पसिसकेको अवस्थामा रौतहटका असरफ आलमलाई पक्राउ गरिएको हो ।

गत सोमबार (९ फागुन) राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल एयरलायन्सको विमानको ढोकामा एक व्यक्ति विना बोर्डिङपास उभिए । शंकास्पद व्यवहारसहित विमानभित्र पसिसकेको अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले उनलाई भेटे ।
तर, न उनले बोर्डिङपास देखाउन सके, न अन्य कागजपत्र ।त्यसलगत्तै नेपाल एयरलाइन्सका कर्मचारीले सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीहरुलाई बोलाए । ती व्यक्ति ह्याङ्गरबाट निकाल्न लागिएको विमानसम्म कसरी पुगे भन्ने तथ्य प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेपछि मात्रै खुल्यो ।
त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल प्रशासन, सुरक्षा निकाय र विमानस्थलमा खटिएका अन्य निकायहरुलाई चक्मा दिने गरी विमानसम्म पुग्ने व्यक्ति रौतहटका असरफ आलम छन् ।
सोमबार राति पौने १० बजे आयल निगमको हवाई इन्धनको डिपो नजिकबाट विमानस्थलको फलामे तारबार नाघेर त्यहाँ पुगेको देखिएको ठाकुरले जानकारी दिए ।
विमानस्थलले सीसी टीभी फुटेजहरुमार्फत अनुसन्धान गर्दा उनी बार नाघेर विमानस्थलको पार्किङसम्म पुगेको देखिएको हो ।तर, उनले बार नाघेको र विमानस्थलको पार्किङसम्म पुगेको सुरक्षाकर्मीले पनि पत्तो पाएनन् । उनी विमानस्थलको टर्मिनल भवन प्रयोग नगरी सोझै यात्रु बोर्ड गरिरहेको विमानसम्म पुगेका थिए ।अनुसन्धानमा उनी एक महिनाअघि पनि बार नाघिसकेको अवस्थामा समातिएको खुलेको छ । तर, उनको मानसिक अवस्था ठीक नभएको पाइएको भन्दै कारबाही नगरी छाडिएको थियो ।
विमानस्थल प्रमुख ठाकुरका अनुसार आलमको गाउँमा नै पुगेर उनको पृष्ठभूमिबारे अनुसन्धान हुनेछ ।आलम अहिले गौशाला प्रहरीको हिरासतमा छन् । विमानस्थल प्रमुख ठाकुरका अनुसार यो निकै गम्भीर घटना भएको बताउँछन् । यसले मुख्य रुपमा विमानस्थलको सुरक्षामाथि प्रश्न उठ्ने उनको भनाइ छ ।‘सुरक्षा निकायहरुले पनि यो घटनापछि निकै गम्भीरता देखाएका छन्, यदि कुनै विष्फोटक पदार्थ लिए कोही व्यक्ति यसरी विमानस्थल प्रवेश गर्यो भने त ठूलो जोखिम हुन्छ, उनले भने, ‘त्यसैले यो घटनापछि हामी विमानस्थलको सुरक्षालाई अझ मजबुत गर्ने पक्षमा थप गम्भीर भएर लाग्छौं ।’
आलमलाई पक्राउ गरेर अनुसन्धान थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए ।उनका अनुसार आलम विमानस्थलको बाहिरपट्टि रहेको तारबाट छिरेको हुनसक्छ । ‘सीधै प्रवेशमा त धेरै कडाइ छ, सम्भव नै हुँदैन’ उनले भने, ‘बाहिरबाट प्रवेश गरेको हुनसक्छ, विमानस्थलको आउटर पेरिमिटरको सुरक्षा जिम्मा सेनाको हो ।’त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा घेरा पार गरेर उनी कसरी विमानको बिजनेस क्लास सम्म पुगे सो घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा गम्भीर प्रश्न उठेको छ ।
पासपोर्ट र टिकट बिना नै बिजनेस क्लासको सिटमा गएर बसेका आलम १ महिना अघि पनि त्यसै गरी विमानमा पुगेका थिए ।आलम कोटेश्वर तर्फबाट विमानस्थलको पेरिमिटर नाघेर जहाजमा पुगेको विमानस्थलका एसएसपी भीम प्रसाद ढकालले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !