काठमाडौं । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा सरुवा भएका उपसचिव तुल्सीराम गैरेलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्टार कार्यालयको निमित्त रजिष्टारको जिम्मेवारी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गैरेको सरुवा माघको दोस्रो साता जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा गरेको छ ।

तर उनी सरुवा भएको कार्यालयमा नगई कम्पनी रजिष्टार कार्यालयमै कार्यरत रहेका थिए । सामान्य प्रशासन मन्त्रालयले गतहप्ता कम्पनी रजिष्टार अधिकारीको सरुवा गरेपछि उद्योग मन्त्रालयले सरुवा भएका उपसचिव गैरेलाई निमित्तको जिम्मेवारी दिएको छ ।
सामान्य प्रशासन मन्त्रालयले पठाएको सरुवाको पत्र पनि उपसचिव गैरेले उद्योग मन्त्रालयका उच्चअधिकारीलाई प्रभावमा पारी लुकाउन लगाएका छन् । २० बर्षदेखि कम्पनी रजिष्टार कार्यालय र उद्योग मन्त्रालयमा कार्यरत रहेका गैरे पहिलो पटक त्रिपुरेश्वरबाहिर सरुवा गर्दा पनि विभिन्न शक्तिकेन्द्र मुख्यसचिव शंकरदास बैरागीसम्म प्रयोग गरी सरुवा रोकाउने दाउमा छन् ।
निजामती सेवा ऐन र नियममा कर्मचारीको सरुवा प्रत्येक २ बर्षमा हुने ब्यवस्था छ । तर उपसचिव गैरे २० बर्षदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्टार र उद्योग विभागमै कार्यरत छन् । उनले उद्योग बिभागबाट कम्पनी रजिष्टार र त्यहाँबाट उद्योग विभागमा सरुवा हुँदै जागिरको २० बर्ष ब्यतित गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभिलेख हेर्ने हो भने उनी कम्पनीबाट उद्योग विभाग र त्यहाँबाट कम्पनी सरुवा भएको मात्र फेलापर्नेछ । जागिरमा प्रवेश गरेदेखि नै उनले वल्लो र पल्लो कार्यालयबाहेक उनले काठमाडौं बाहिर जानुपरेको छैन ।
हाल कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत गैरै गुनासो सुन्ने अधिकारी हुन् । उनलाई माघको दोस्रो साता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति सिन्धुपाल्चोक सरुवा गरेको थियो । तर उनी जिसस सिन्धुपाल्चोकमा रमाना बुझेर जाने भन्दा पनि सरुवा रोकेर कम्पनी रजिष्टार कार्यालयमै थमौती हुने प्रयासमा छन् ।२० बर्षमा पहिलो पटक काठमाडौं उपत्यका बाहिर सरुवा भएका उनी नजानका लागि सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई प्रभावमा पार्न तल्लीन छन् ।
जबकि निजामती सेवा नियमावली अनुसार सरुवा भएको २१ दिनभित्र खटाएको कार्यालयमा हाजिर हुन जानुपर्छ । तर उनी एक महिना पुग्न लाग्दा पनि गएका छैनन् । निजामती सेवा ऐन नियम सबैका हकमा लागू हुनुपर्ने हो । तर गैरेजस्ता सधैं उद्योग र कम्पनीमा बसी अकूत सम्पत्ति आर्जन गर्नेको हकमा लागू गराउन सामान्यले खोज्दा यो पनि उनी बदर गराउन तल्लीन छन् ।कम्पनी रजिष्टार कार्यालयमा घुसविना कुनै पनि काम नहुने गरेको जनगुनासो ब्याप्त छ । गैरेजस्ता बर्षौदेखि जरा गाडेर बसेका रैथाने कर्मचारीका कारण कम्पनी रजिष्टार कार्यालय बदनाम छ ।

















