काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी (मिलिनियम च्यालेञ्ज कर्पोरेसन) सम्झौताविरुद्धको आन्दोलनमा प्रहरी जोगाउँदा तोडफोडमा परेको पसललाई क्षतिपूर्ति दिन गृह मन्त्रालयमा सिफारिस गरिने भएको छ ।

फागुन ८ गते एमसीसी संसदमा टेबल भएको दिन प्रदर्शनकारीले लखेटेपछि प्रहरी बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिक पसलभित्र छिरेका थिए । त्यसक्रममा आन्दोलनकारीले उनको पसलमा तोडफोड गरेका थिए । तोडफोडबाट क्षतिग्रस्त पसलमा मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीसहितको टोली पुगेर जानकारी लिएका छन् ।
प्रहरी जानकीको बुटिकमा पसेको भन्दै आन्दोलनकारीले तोडफोड गरेका थिए । पसल तोडफोड भएपछि के गर्ने, कसो गर्ने ? भन्ने भेउ पाउन नसकेको तर, प्रजिअ अधिकारी र एसएसपी गिरी आएर निरीक्षण गरेपछि थोरै भए पनि राहत महसुस भएको जानकीले बताइन् । उनले अझै पनि आन्दोलनकारीले आफूलाई टर्चर दिने गरेको सरकारी अधिकारीहरूसँग बताइन् । प्रजिअ अधिकारी र एसएसपी गिरीले आफ्नो ज्यान जोखिममा राखेर प्रहरी जोगाएकोमा जानकीलाई धन्यवाद दिए ।
एसएसपी गिरीले प्रहरीलाई कहाँ राखेर जोगाएको भनेर जिज्ञासा राखेका थिए । जवाफमा जानकीले पुलिसभित्र छिरेपछि आन्दोलनकारीले सटर खोलेर सिसा फुटाउन थालेपछि पछाडितर्फको गोदाममा लगेर लुकाएको बताइन् । उनले ६ जना प्रहरीलाई आफूले लुकाएर बचाएको जानकारी गराइन् । आफूले प्रहरीको ज्यान जोगाउन पाएकोमा गर्व लागेको उनको भनाइ थियो ।
एसएसपी गिरी र काठमाडौंका प्रजिअ रिजालले जानकीलाई तोडफोड भएको पसलको क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा प्रस्ताव गर्ने आश्वासन दिए । सीडीओ रिजालले भने, ‘प्रहरीले उठाएको पसलको मुचुल्का अनुरुप हामीले गृह मन्त्रालयसँग क्षतिपूर्तिका लागि प्रस्ताव गर्छौं ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !