काठमाडौं। ट्राफिक प्रहरीले मोबाइल एपमार्फत अन द स्पट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) चेकजाँच गर्ने भएको छ। यातायात व्यवस्था विभागले नक्कली लाइसेन्सको प्रयोग रोक्न मोबाइल एपको विकास गरी सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ।

विभागका महानिर्देशक नमराज घिमिरेले ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई लाइसेन्स भेरिफिकेसन मोबाइल एप्लिकेसन हस्तान्तरण गरेका छन्। महानिर्देशक घिमिरेले एक वर्षे परीक्षणकालीन लाइसेन्समा रहेको क्यूआर कोडलाई प्रहरीले मोबाइल एपमार्फत् स्क्यान गरी सजिलै नक्कली/सक्कली छुट्याउन सक्ने बताए।
परीक्षणकालको अवधिमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेको रेकर्ड देखिएमा लाइसेन्स खारेज समेत गर्न सक्ने प्रावधान छ।
महाशाखा प्रमुख एसएसपी जोशीले लाइसेन्स प्रमाणीकरणको लागि कुनै पनि प्रविधि नभएका कारण शंकास्पद लाइसेन्स चेकजाँचको लागि यातायात कार्यालयहरूमा सम्पर्क गर्नुपर्ने बाध्यात्मक अवस्था अन्त्य हुने विश्वास व्यक्त गरेका छन्।
नक्कली लाइसेन्सधारीले सवारी चलाउँदा दुर्घटनाको जोखिम समेत बढ्ने भएकाले विकसित प्रविधिको प्रयोग गरी चेकजाँच प्रणाली सहज र प्रभावकारी हुने जोशीले बताए। मोबाइल एप मार्फत विभागले वितरण गरेको परीक्षणकालीन लाइसेन्स भेरिफाइ गरिन्छ।
उक्त लाइसेन्समा रहेको क्यूआरलाई एपमार्फत् स्क्यान गरी लाइसेन्स भेरिफाइ गरिन्छ। उपत्यकामा कार्यरत ट्राफिक प्रहरीहरूको मोबाइलमा उक्त एप इन्स्टल गरी चेकजाँचको क्रममा अन द स्पट लाईसेन्स भेरिफाई गर्न सक्नेछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !