काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई संसदमा बोल्न नदिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । उनले एमसीसीको विषयमा सरकारले आफूहरूलाई बोल्ने अवसर नदिएको भन्दै कडा आपत्ति जनाएका छन् ।

अहिलेको सरकारले आफ्नो पार्टीलाई संसदीय प्रक्रियाबाटै विमुख गराएकाले एमसीसीबारे कुरा राख्न नपाएको बताएका छन् । एमालेले निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । हरेक संसद बैठकमा एमालेका सांसदहरूले नाराबाजी गर्ने गरेका छन् ।
त्यहीमात्रै होइन अध्यक्ष ओलीले सरकारले एमसीसी संसदमा पास गर्नको लागि नभएर सडकमा आगो बाल्नका लागि ल्याएको बताए ।संसद बैठक सकिनै लाग्दा संसद भवन पुगेका ओलीले आफ्ना पार्टी निकट सांसदसँगको आन्तरिक छलफलमा यस्तो बताएका हुन् ।
उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिन्छ । संसदीय प्रक्रियामा भाग लियौं भने यस विषयमा स्ट्याण्ड लिन्छौं ।’
