काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । तनहुँ ब्यास नगरपालिका–९ घर भई काठमाडौंको सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोकको बाह्रबिसे–४ घर भई तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारीलाई पक्राउ गरिएको हो ।

उनीहरुले आफ्नो बैंक खाताबाट रकम भुक्तान हुने भनी खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट कैद सजाय तोकिएको थियो ।
गुरुङलाई ७२ लाख र २४ दिन कैद सजाय तोकिएको छ । यस्तै, भण्डारीलाई ५ दिन कैद र ९ लाख ७३ हजार रुपैयाँ तोकिएको हो । उनीहरुलाई जिल्ला अदालत ललितपुर र भक्तपुरमा कैद सजाय भुक्तानका लागि प्रहरीले पेस गरेको जनाएको छ ।

















