काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलको बैठकमा पाँच सांसदले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । कुनै विषय उल्लेख नगरी खाली कागजमा हस्ताक्षर गराइएको भन्दै सांसदहरू भीमबहादुर रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्टले खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

नेकपा एमाले संसदीय दलले सोमबार सांसदहरुलाई विभिन्न ६ वटा पत्रमा हस्ताक्षर गराएको थियो । तीमध्ये एउटा हस्ताक्षर संकलन बैठकको उपस्थितिको लागि थियो भने बाँकी ५ वटामा विषय खुलाइएको थिएन । ती कागजमा हस्ताक्षर गर्न रावलले लिखितरूपमा नै असहमति राखेका थिए । अन्य चार सांसदले पनि त्यसमा मौखिक कुरा राख्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले त्यसरी हस्ताक्षर गराइएको र नेतृत्वले सोच विचार गरेर त्यसको प्रयोग गर्ने जानकारी दिएका थिए । उनले न्यायाधीशहरूलाई महाभियोग लगाउने लगायतका विषयमा छलफल भएको र त्यसमा विचार गरेर निर्णय हुने बताएका थिए ।

















