जनकपुरधाम । धनुषा प्रहरीले आफ्नो सय दिने प्रगति सार्वजनिक गर्दै यो अवधिमा अपराधिक कृयाकलापमा संलग्न ३ सय ४ जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) वसन्त रजौरेले सय दिनमा ३ सय ४५ वटा मुद्दा दर्ता गरी तीन सय चार जनालाई पक्राउ गरिएको जानकारी दिए । त्यसैगरी यस अवधिभित्रमा दुई करोड २७ लाख भन्दा बढकिो राजश्व संकलन भएको उनले बताए ।

समाजलाई नै खोक्रो बनाउने लागुऔषधको कारोबार रोक्न प्रहरीले विशेष प्रयत्न गरेको छ । प्रहरीका अनुसार लागुऔषध मुद्दामा ५७ जना पक्राउ परेका छन् । दिन विराएर लागुऔषधको कारोवारमा संलग्न कम्तिमा एक जना पक्राउ परेको यो तथ्यांकबाट देखिन्छ ।
भन्सार छलेर ल्याएका लत्ताकपडा, पितल, किराना सामग्रीहरु, सवारी साधन गरी २ करोड २७ लाख ७ हजार २ सय ५५ रुपैयाँ राजश्व यो अवधिमा संकलन भएको प्रहरीले जनाएको छ । रजौरेले गत कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मेवारी सम्हालेका थिए । त्यसयता भएको अपराध अनुसन्धान, तस्करी नियन्त्रण, ट्राफिक व्यवस्थापनको प्रगति विवरण जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।
प्रहरीले यो अवधिमा अदालतबाट फैसला भइ फरार रहेका ३ महिला र ३५ पुरुष गरी ३८ जनालाई पक्राउ गरेको छ । महिला सेलबाट घरेलु हिंसाका ३३७ उजुरी मध्ये २१६ मिलापत्र र समाजिक हिंसाका २९४ उजुरी मध्ये १०५ मुद्दा मिलापत्र गराएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको कार्य विवरणमा धनुषामा कातिक ८ गते देखि माघ १८ गतेको बीचमा ६५० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट, चोरीको १८ मोटर साइकल बरामद, चोरी भएका ३५ मोवाइल बरामद, प्राकृतिक श्रोतको गैरकानुनी उत्खनन गर्न प्रयोग भएको ११ ट्याक्टर, ८ टिपर र ६ थान जेसीबी नियन्त्रणमा लिएको उल्लेख छ । नदीजन्य पदार्थको गैरकानुनी उत्खनन गर्दा नियन्त्रणमा लिएको सवारी साधनबाट ३ लाख ७५ हजार राजश्व संकलन भएको छ ।
धनुषा प्रहरीले ४ वर्षीय बालकको हत्या, ९ वर्षीय बालकको अपहरण गर्ने, लटपाटमा संलग्न आरोपितलाई पक्राउ गर्नुको साथै नक्कली कागजातहरु तयार गरी ठगी गर्नेहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !