काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका दुई डीआईजी पदावधिका कारण अनिवार्य अवकाशमा गए। डीआईजीहरु खड्गजीत राई र मन्दीप श्रेष्ठले डीआईजीको चार वर्षे पदावधिका कारण अवकाश पाएका हुन् । सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल भारतमा उपचाररत रहेकाले दुबैं डीआईजीहरु आफु कार्यरत रहेकै इकाईबाट बिदाई हुने छ ।

डीआईजी राईको सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी थियो भने डीआईजी श्रेष्ठ हाल सशस्त्रका प्रवक्ता थिए । डीआईजीको ४ वर्षे कार्यकाल गत वर्षको २६ माघमा पूरा गरेका उनीहरुको १ वर्षे कार्यकाल थपिएको थियो । सशस्त्र प्रहरी नियमावली अनुसार उनीहरुको पदावधि थप गरिएको थियाे ।
तर, उनीहरुको ३० वर्षे सेवा अवधि पुग्न भने अझै ३ वर्ष ७ महिना बाँकी नै थियो । सशस्त्र प्रहरीमा पछिल्लो समय एआईजी दरबन्दी थपको कुरा भइरहेको हुँदा उनीहरु पनि बढुवाको दाबेदार थिए । यदी पद सृजना भएकाे भए सशस्त्रकाे नेतृत्वमा राई पुग्ने निश्चित प्राय थियाे । तर, सरकारले एआईजी दरबन्दी थपको लागि निर्णय नगरेपछि उनीहरु घर फर्कनु परेको हो । हाल सशस्त्र प्रहरीमा २ एआईजी दरबन्दी छ । त्यसअघि सशस्त्रमा ३ एआईजीको दरबन्दी थियो ।एआईजी नारायणबाबु थापाको अवकाशसँगै उक्त दरबन्दी पनि खारेज भएको थियो । हाल सरकारले एउटा दरबन्दी थप गर्न खोजेको थियो ।
मेजरमा बढुवा गर्न सिफारिस
नेपाली सेनाको मुख्यालय जंगी अड्डाले साधारण सेवा तर्फका ६३ जना सहसेनानी (क्याप्टेन) लाई सेनानी (मेजर) मा बढुवा सिफारिस गरेको छ । यस्तै तीन जना उपसेनानी (सेकेण्ड लेफ्टिनेन्ट ) लाई सहसेनानी (क्याप्टेन) मा बढुवाका लागि सिफारिस गरिएको छ । सैनिक मुख्यालयले सैनिक नियमावली २०६९ अनुसार रिक्त रहेका दरबन्दीमा बढुवाका लागि सिफारिससहित सातदिने सूचना निकालेको हो । सेनाको विगतमा रहेका खाली दरबन्दी तथा नेपाली सेनाको स्विकृत सांगठनिक संरचना २०७८ अनुसार थपघट हुने दरबन्दीमा उनीहरुको बढुवा हुने सूचनामा उल्लेख गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !