हुम्ला । एक अध्ययन प्रतिवेदनले चीनले नेपाली भूभागमा स्थायी नहर बनाउने प्रयास गरेको दाबी गरेको छ । उक्त प्रतिवेदनन नेपाल सरकारले गोप्य राखेको समेत खुलासा भएको छ ।

बिबिसीले उक्त प्रतिवेदन प्राप्त भएको भन्दै उक्त खुलासा गरेको हो । चीन र नेपालको सिमानामा पर्ने हुम्लाको किट खोला क्षेत्रमा दीर्घकालीन रूपमा पानीको मुहानमा चिनियाँ पक्षले नियन्त्रणको प्रयास गर्ने दाबी सहित उक्त प्रतिवेदनले त्यसको संरक्षण र कूटनीतिक सम्बोधन हुनु आवश्यक रहेको उल्लेख गरेको छ ।
प्रतिवेदनले किट खोलाबाट कर्णाली नदीसम्म अवस्थित नेपाली भूभागमा तारबार समेत लगाएको खुलासा गरेको छ । उक्त तारबारलाई तत्काल हटाउनुपर्ने सुझाव समेत प्रतिवेदनमा रहेको बिबिसीको दाबी छ । तर यसबारे नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौँमा रहेको चिनियाँ दूतावासलाई बिबिसीले प्रश्न गर्दा दुवै पक्षले कुनै जवाफ नदिएको बताइएको छ ।

यसैगरी नेपालको सीमामा पर्ने लोलुङ क्षेत्रको साबिक मानसरोवर दर्शन गर्ने स्थानसम्म चिनियाँ सुरक्षा फौजको निगरानीले नेपालीलाई धार्मिक गतिविधिमा निषेध गरेको, सीमा स्तम्भ नम्बर ५ (२) बाट पश्चिम किट डाँडाको बहुधार हुँदै गएको सीमा स्तम्भ नम्बर ४ क्षेत्र आसपासमा चिनियाँ पक्षले नेपालको चरिचरनमा अवरोध गर्ने गरेको, चिनियाँ क्षेत्रमा पर्ने सीमा स्तम्भ नम्बर ७ (२) स्थलगत रूपमा नदेखिएको र नेपाली सुरक्षा फौजले समेत खोजी गर्दा नभेटिएको लगायत समस्या उक्त प्रतिवेदनले उल्लेख गरेको बिबिसीले जनाएको छ ।
नेपालको सीमामा चीनिया अतिक्रमणबारे विभिन्न समयमा चर्चा हुने गरेको छ । तर चीनले भने नेपालसँग कुनै पनि किसिमको सीमा विवाद नरहेको बताउने गरेको छ र नेपाल सरकारले पनि यसबारे खासै तथ्यगत बोलेको पाइँदैन ।
हुम्लामा सीमा अतिक्रमण भएको गुनासो बढेपछि गत भदौमा गृह मन्त्रालयका तत्कालीन सहसचिव जयनारायण आचार्य संयोजक रहेको सात सदस्यीय अध्ययन टोली गठन गरिएको थियो । शेरबहारदुर देउवा नेतृत्वको सरकारकै पालामा उक्त टोलीलाई हुम्ला जिल्ला अन्तर्गत पर्ने नाम्खा गाउँपालिकाको लिमि लाप्चादेखि हिल्सासम्मका समस्या पहिचान गरी समाधानका उपायहरू सहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको थियो ।
टोलीले तीन हप्ताभन्दा बढी समय लगाएर तयार पारेको प्रतिवेदनलाई अझै गोप्य राखिनुले केही गडबड अवश्यै रहेको आकलन गर्न सकिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !