बारा । मधेस प्रदेशको जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीलाई नागरिता बनाउन आएका सेवाग्राहीको फाइल फाल्दै प्रहरी लगाएर कुटपिट गरेको आरोप लागेको छ । छोरा छोरीको नागरिता बनाउन जिल्ला सदरमुकाम पुगेका महागढिमाइ नगरपालिकाका सेवाग्राही जलन्द्रप्रसाद यादवलाई सोमबार प्रजिअ कृष्णबहादुर कटुवालले प्रहरी लगाएर कुटपिट गर्नुको साथै दुई घण्टा हिरासतमा लिएको महागढिमाइ नगरपालिकाका मेयर उपेन्द्र यादवले बताए । मेयर यादवका अनुसार प्रजिअ कटुवालले सोमबार अपरान्ह आफ्नो नगरपालिकाका नागरिक यादव सहित अन्य सेवाग्राहीको फाइल फालेका थिए । किन फाइल फालेको भनेर प्रतिकार गरेका यादवलाई धेरै बोल्छस् भन्दै प्रहरी लगाएर कुटपिट गर्नुको साथै हिरासतमा लिइएको थियो ।

‘मैले घटना सुने पछि सिडियोलाई फोन गरेँ । सेवाग्राहीलाई किन कुटपिट गरी हिरासतमा राख्नुभयो ? गल्ती गरेको भए मुद्दा चलाउनु, होइन भने यसरी विना कसुर नागरिकलाई थुन्न पाइन्छ भनेर सिडियो सापलाइ भने ?’ मेयर यादवले जनप्रभावसँग भने । त्यसको जवाफमा सिडियोले यहाँ हल्ला गरेकोले हिरासतमा लिएको हो केही बेरमा छोडुँला भनेको उनले बताए ।
यस अघि पनि सिडियो र उनका माताहतमा रहेका कर्मचारीले सेवाग्राहीसँग यस्तै प्रकारको व्यवहार गर्ने गरेको गुनासो आफूसँग पटक पटक आउने गरेको मेयर यादवले बताए । ‘सिडियो कार्यालयले साना काममा पनि जनतालाई दुःख दिने र अल्झाउने गर्दे आएको छ । प्रशासनले गर्ने काम छिटो र छरिता हुनपर्छ । सेवाग्राहीले पाउनु पर्ने सेवामा ढिला सुस्ती गर्न पाइँदैन,’ उनले भने ।
यसबारेमा बुझ्न सिडियो कटुवाललाई फोन गर्दा उनले भने, ‘ए मेयरले त्यसो पो भन्छ ? तपाइ अरुको कुरा सुन्ने पत्रकार हो ?’ उनले राम्रोसँग जवाफ दिन चाहेनन् । चार महिना अघि बारा गएका उनले यस अघि पनि यस्तै कार्य गर्ने गरेको गुनासो आउने गरेको थियो । पीडित यादव महागढिमाइ नगरपालिकाका एम्बुलेन्स चालक हुन् ।

















