वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयले बेरुजु रकम दाखिला नगर्ने १८६ फर्म तथा कम्पनीको कारोबार रोक्का गर्ने निर्णय गरेको छ ।

नेपाल टेलिकम, भ्याली कोल्डस्टोर, पतञ्जली आयुर्वेद, अर्किड इन्टरनेशनलसहितका कम्पनीको कारोबार रोक्का राख्ने निर्णय भएको भन्सार कार्यालयले जनाएको छ ।पटक-पटक ताकेता गर्दा पनि भन्सार कारोबारको दायित्व चुक्त्ता गर्न नआएपछि कारोबार रोक्काको निर्णय गरिएको वीरगञ्ज भन्सार प्रमुख हरिहर पौडेलले बताए ।
ती फर्मले कम्तीमा चार हजारदेखि बढीमा ४० लाखसम्म बेरुजु फर्स्यौट गर्न बाँकी रहेको उनको भनाइ छ । केही कम्पनीले आर्थिक वर्ष २०६०/६१ देखिको वक्यौता नतिरेको पाइएको भन्सार कार्यालयले जनाएको छ । यस्ता कम्पनीको कुल बक्यौता १७ करोडभन्दा बढी छ । कारोबार रोक्काको निर्णयपछि कम्पनीहरु बेरुजु तिर्न बाध्य हुने भन्सार कार्यालयलको विश्वास छ ।

















