महोत्तरी । राजमार्ग बन्द गराउने उद्देश्यले आन्दोलनमा उत्रिएका जनमत पार्टी महोत्तरीका १० जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

सरकारले किसानको माग नसुनेको भन्दै पूर्व–पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेकाहरुलाई प्रहरीले बर्दिबासबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतोसहित रहेको इलाका प्रहरी कार्यालय गौरीडाँडाले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास–६ का विनोदकुमार महतो, बलवा नगरपालिका ६ का वडाध्यक्ष नारायण साह, पिपरा गाउँपालिकाका अजितकुमार ठाकुर, गौशाला नगरपालिका–१ का वडाध्यक्ष वीरेन्द्र महतो रहेका छन् ।
बर्दिबास १ स्थित रातु पुलमा दिउँसो ४ बजे थप तनावग्रस्त भएपछि चार जनालाई पक्राउ गरिएको हो । किसानको आन्दोलनलाई निस्तेज बनाइएको भन्दै प्रदेश सरकारलाई दबाब दिने उद्देश्यले राजमार्ग ठप्प बनाउने कार्यक्रम रहे पनि खासै असर देखिएको छैन ।
यात्रुलाई कुनै सास्ती नहोस् भन्ने उद्देश्यले सुरक्षाकर्मीहरू विहानैदेखि सडकमा तैनाथ गरिएको थियो ।

















