काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुवै मिर्गौला फेल भएका प्रहरी जवान मधु खत्रीलाई उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीको विशेष सक्रियतामा संकलित तीन लाख ७७ हजार रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

संकलित रकम प्रहरी जवान खत्रीकी श्रीमती ट्राफिक महाशाखामा कार्यरत प्रहरी जवान मुना बस्नेतलाई हस्तान्तरण गरेको महाशाखाले जनाएको छ ।महाशाखामा कार्यरत खत्रीको दुवै मिर्गौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भइरहेको थियो ।
गुल्मी जिल्लाको ईस्मा वडा नं ४ स्थायी घर भई बागबजार बस्ने प्रहरी जवान खत्रीको उपचारमा हुने आर्थिक अभावलाई सहयोग गर्न उपत्यकामा कार्यरत सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरुले स्वस्फुर्त रुपमा सहयोग रकम संकलन गरेका हुन् ।
दुवै मिर्गौलाले काम गर्न छोडेपछि नेपाल प्रहरी लगायतका अस्पतालहरुमा डायलसिस एवं उपचार गराइरहेका खत्रीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ । आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागि सहयोगको सुरुवात गरेको एसएसपी जोशीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !